२०६९।०४।२४
नेपाल पत्रकार महासंघ, सप्तरी शाखाका सदस्य विवेकानन्द झाको हिजो साउन २३ गते साँझ ७ः३० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ६२ वर्षीय झा लामो समयदेखि मृगौला रोगबाट पीडित भई गत तीन महिनादेखि उक्त अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
डेढ दशकदेखि पत्रकारितामा संलग्न रहँदै आउनु भएका पत्रकार झा सप्तरीबाट प्रकाशित हुने मिथिला साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । श्रमजीवी पत्रकार पारिश्रमिक समितिका सदस्यसमेत रहेका झाको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकारलाई गुमाएको छ । महासंघले यस घटनालाई पत्रकारिता जगतको अपूरणीय क्षतिको रुपमा लिएको छ । स्वर्गीय झाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
नेपाल पत्रकार महासंघ स्वर्गीय झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा उहाँकी धर्मपत्नी, छोरा र छोरीसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

