मिति : २०८३।०८।११
पत्रकार राजेन्द्र विष्टको ४२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित विष्टको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा २०८३ मंसिर १० गते बिहीबार दिउँसो निधन भएको महासंघको कञ्चनपुर शाखाले जनाएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएका विष्ट महासंघ कञ्चनपुर शाखामा आवद्ध हुनुहुन्थ्यो । विष्ट पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) मा डेस्क सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेशबाट पटकपटक केन्द्रीय प्रतिनिधिको रुपमा महासंघमा प्रतिनिधित्व गर्दै आउनु भएका विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, कर्मठ, कुशल र जुझारु युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव