मिति : २०८३।०६।३१
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर व्यूरोमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा सो साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । सोही विषयमा परेको उजुरीलाई लिएर एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली श्रेष्ठलाई आज ललितपुरको नख्खुस्थित उहाँको निवासबाट पक्राउ गरेको छ ।
समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबार व्यूरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ । यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघको बुझाइ छ ।
महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ ।
महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराउँदै समाचारको विषय भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्वद्ध पक्षलाई सचेत गराउँदछ ।
साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव