मिति : २०८३।०६।१७
वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित लम्सालको २०८३ असोज १७ गते बिहान काठमाडौंस्थित हृयाम्स अस्पतालमा निधन भएको हो ।
विगत पाँच दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनु भएका लम्साल पछिल्लो समय राष्ट्रवाणी साप्ताहिकका प्रधानसम्पादक हुनुहुन्थ्यो । बुढानिलकण्ठ नगरपालिका–१० निवासी लम्सालका दुई छोरा विकास लम्साल र विशाल लम्साल पत्रकार हुनुहुन्छ ।
स्वर्गीय लम्सालको आजै पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । त्यसअघि लम्सालको पार्थिव शरीरमा महासंघ केन्द्रीय समितिका पदाधिकारी, सदस्यलगायत उपस्थित पत्रकार तथा सञ्चारकर्मीबाट श्रद्धाञ्जली अर्पण गरेका थिए ।
महासंघ काठमाडौं शाखाका पूर्वसभापति लम्सालले नेपाली पत्रकारिता र श्रमजीवी पत्रकारको हकहितका पक्षमा सञ्चालित हरेक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । लम्सालको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको छ भने नेपाल पत्रकार महासंघले सक्रिय अभिभावक गुमाएको छ ।
महासंघ स्वर्गीय लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा विकास र विशालसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव