प्रकाशित/प्रसारित समाचारको विषयलाई लिएर सिन्धुपाल्चोक जिल्लाका केही सञ्चारमाध्यमलाई लाञ्छित गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८२।१०।१९
 

प्रकाशित/प्रसारित समाचारको विषयलाई लिएर सिन्धुपाल्चोक जिल्लाका केही सञ्चारमाध्यमलाई लाञ्छित गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पछिल्लो समय सार्वजनिक निकायमा हुने दुर्व्यवहार, हिंसा र अनियमितताका विषयमा प्रकाशित भएका समाचार सामग्रीलाई लिएर सिन्धुपाल्चोकका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न लाञ्छना लगाउँदै भिडियो सामग्रीमार्फत कारबाहीको ठाडो धम्की दिएको महासंघ सिन्धुपाल्चोक शाखाले जनाएको छ ।


कुनै पनि विषयमा समाचार संकलन गर्नु पत्रकारको संवैधानिक अधिकार हो । त्यही अधिकार निर्वाह गर्दा पत्रकारले संप्रेषण गरेका समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने वा कानुनी उपचारमा जानसकिने प्रचलित प्रावधान छ ।

 
त्यसलाई बेवास्ता गर्दै सिन्धुपाल्चोकका पत्रकार र सञ्चारमाध्यममाथि घटिरहेको पछिल्लो घटनाक्रम अत्यन्त निन्दनीय मात्र होइन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको महासंघ ठहर छ ।

महासंघ घटनाको छानबिन गरी यस्ता हर्कतमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिन कडा कदम चाल्न स्थानीय प्रशासनसँग माग गर्दछ ।

व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्वपूर्ण आधार हो । तसर्थ, पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई आग्रह गर्दछ ।

……………….
रामप्रसाद दाहाल
महासचिव

 डाउनलोड गर्नुहोस्