महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८१।१०।२९

नेपाल पत्रकार महासंघ बझाङ शाखाको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका पत्रकार ललितबहादुर सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पीडित पत्रकार सिंहका अनुसार यही माघ २८ गते सोमबार राति १०ः०० बजेको समयमा जयपृथ्वी नगरपालिका–१० स्थित सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा रहेका बेला आफूलाई मसस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतका समुहले कुरा गर्नु छ भनी सोही होटेलको कोठामा बोलाएका थिए ।

भोलि कुरा गरौला भन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समुहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेका पीडित पत्रकारको भनाइ छ । चक्कु प्रहारबाट चोट लागेपछि पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ । महासंघ पत्रकारको सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ । पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै, पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्