मिति : २०८३।०८।०७
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि साझा धारणा बनाउन नेपाल पत्रकार महासंघद्वारा काभ्रेको धुलिखेलमा २०८३ मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठक सम्पन्न भएको छ । बैठकमा महासंघका पदाधिकारी, महासंघका पूर्वअध्यक्षहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीहरू, प्रेससँग सम्बन्धित संघ–संगठनका प्रतिनिधिहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन, सूचनाको संकुचन, सञ्चार कानुन (विशेषगरी प्रेस काउन्सिल अध्यादेश, विधेयक, आमसञ्चार विधेयकको मस्यौदालगायत) समसामयिक विषयमा गहन छलफल गरी यो प्रस्ताव पारित गरिएको छ ।
पारित प्रस्तावहरू :
१. संविधान र प्रचलित कानुनद्वारा प्राप्त मौलिक तथा कानुनी हकको प्रयोग र पालना संकुचित, नियन्त्रित र निर्देशित हुँदै गएकोले सरकारलाई त्यस्ता कार्यहरू रोकेर संविधानको अक्षरशः पालना गर्न–गराउन यो सम्मेलन जोडदार माग गर्दछ ।
२. संविधान र कानुनद्वारा प्राप्त प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रेस काउन्सिल अध्यादेश फिर्ता लिई मिडिया काउन्सिल विधेयक सरोकारवालाहरूसँग बृहत् छलफल गराई विधायिकी प्रक्रियाबाट ल्याउन माग गर्दछौँ। साथै, प्रस्तावित आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकलगायतका सञ्चार कानुनहरू सरोकारवालाहरूसँग व्यापक छलफल, परामर्श र सहमतिपश्चात् मात्र निर्माण तथा जारी गर्न माग गर्दछौँ ।
३. प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यमलाई सरकारी निर्देशनमा गैरकानुनी हस्तक्षेप, निर्देशन र नियन्त्रण गरिरहेकोले त्यस्तो गैरकानुनी कार्य बन्द गर्न सरकारसँग माग गर्दछ ।
४. विश्वव्यापी मान्यता, अभ्यास र प्रचलित कानुनविपरीत पत्रकारसँग विभिन्न सरकारी संयन्त्रद्वारा सूचनाको स्रोत खोल्न बाध्य पार्ने तथा त्यस प्रयोजनका लागि प्रेस काउन्सिल र प्रहरी प्रशासनले आवश्यक केरकार, धम्की र दबाब दिने कार्य बन्द गर्न जोडदार माग गर्दछौँ।
५. सञ्चारमाध्यमको मुख्यद्वारमा गराइएको सवारी अवरोध र समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने कार्यको घोर निन्दा गर्दै स्वतन्त्र प्रेसविपरीत भएको हस्तक्षेपको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीउपर कारबाही गर्न माग गर्दछौँ ।
६. समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने, पत्रकारले प्रयोग गर्ने मोबाइल, ल्यापटप, क्यामेराजस्ता सञ्चार साधनहरू नियन्त्रणमा लिने र त्यस्ता साधनमा रहेका तथ्याङ्क मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी रवैयाको अन्त्य गर्न माग गर्दछौँ ।
७. पूर्वअभ्यास, अन्तर्राष्ट्रिय मान्यता र कानुनबमोजिम पत्रपत्रिकाले प्राप्त गरेको लोककल्याणकारी सुविधा तथा विज्ञापनहरू बन्द वा संकुचित गर्ने कार्यप्रति महासंघ विरोध गर्दछ। साथै, त्यस्ता कार्य नगर्न सरकारसँग माग गर्दछ ।
८. संघीयताको मर्म र भावना तथा प्रचलित कानुनविपरीत प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमहरूलाई संघीय संरचनाद्वारा नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै प्रदेश संरचनामार्फत नै दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन माग गर्दछ ।
९. सरकारको स्वामित्वका सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारहरूलाई बिनाकारण एकैपटक ठूलो संख्यामा हटाएकोले यो बैठक हटाइएका सबै पत्रकारहरूलाई पुनर्बहाली गर्न माग गर्दछ ।
१०. संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावलीमा उल्लेखित सूचनाको हक कार्यान्वयनमा भूमिका निर्वाह गर्ने दायित्व बोकेको सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोमा यो बैठक आपत्ति जनाउँदछ। साथै, सूचनाको हकलाई अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
११. न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न, अदालतमाथिको हरेक किसिमको राजनीतिक हस्तक्षेप र दबाब तत्काल अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम गर्न सरकारसँग माग गर्दछ ।
१२. बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हकको हनन भएमा तत्काल उपचारका लागि अदालत प्रवेश गर्ने न्यायका याचकहरूको रिट निवेदन तत्काल दर्ता गरी सुनुवाइ गर्नुपर्नेमा दर्ता गर्न नै अस्वीकार गर्ने वा ढिलाइ गर्ने कार्य तत्काल रोक्न माग गर्दछौँ ।
१३. प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नहुने व्यवस्था भएका खण्डमा नेपाल पत्रकार महासंघ काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न बाध्य नहुने र यस्तो अवस्थामा महासंघ स्वयं आफैँ आचारसंहिता जारी गरी अगाडि बढ्ने घोषणा गर्दछौँ ।
१४. विभिन्न पेसाकर्मीहरूको पेसागत स्वतन्त्रता तथा निर्वाध र भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गर्दछौँ ।
१५. डिजिटल डिभाइडको हालको अवस्थामा सूचनाको हक कार्यान्वयन गर्नु सरकारको दायित्व रहँदारहँदै निःशुल्क सूचना प्रवाह गरिरहेका एफएम रेडियोहरूमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणालीको अन्त्य गर्न माग गर्दछौँ ।
१६. उल्लिखित सबै प्रस्तावहरूमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को समेत ऐक्यबद्धता रहेको छ ।
रामप्रसाद दाहाल
महासचिव