मिडियामा सूचनाको हककाे प्रयाेग: अभ्यास र चुनौतीबारे महासंघको अन्तरक्रिया

मिडियामा सूचनाको हककाे प्रयाेग: अभ्यास र चुनौतीबारे महासंघको अन्तरक्रिया



२०८२ फाल्गुण ०१

 

फागुन १, काठमाडौं । सूचनाको हकबाट कुनै पनि नागरिक वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् अर्थमन्त्री रामेश्वर खनालले जनताको सूचनाको हक माग्ने अधिकारको प्रत्याभूति ऐनले मात्र नहुने भन्दै यसलाई समयको मागले समेत निर्धारण गर्ने बताउनुभयो । उहाँले सही सूचना सही समयमा पाउनुले ठूलो अर्थ राख्ने भन्दै सूचनाको दुरुपयोग गर्न नहुनेमा जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेश आचार्यले खराब प्रयोजनका लागि सूचनाको हक प्रयोग गर्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले सूचनाको हक दैनिक प्रयोगका लागि नभई लुकाइएका सूचना सार्वजनिक गर्नका लागि भएको स्पष्ट पार्नुभयो। आयोगले जनताको मौलिक हक कार्यान्वयन र सार्वजनिक हितका लागि सूचनाको हक प्रवद्र्धन गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

महासंघका अध्यक्ष निर्मला शर्माले सूचनाको हक प्रयोग गर्नेमा सबैभन्दा धेरै पत्रकारहरू नै रहेको भन्दै यसको दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो । उहाँले मिथ्या र अपूर्ण सूचनालाई निरुत्साहित गरी सूचना प्रवाहलाई प्रभावकारी बनाउन यसको सही प्रयोग हुनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले जुन प्रयोजनका लागि सूचना माग गरिएको हो, सोही अनुसार त्यसको प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम तथा पत्रकारलाई नियमानुसार कारबाही हुने भन्दै नैतिक पत्रकारिताको अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो ।

महासंघका पूर्वसभापति तारानाथ दाहालले सूचनाको हकको कार्यान्वयनले देशको सुशासनको अवस्था उजागर गर्ने धारणा राख्नुभयो । उहाँले सूचनाको हक प्रयोग गरी सञ्चारमाध्यमका विषयवस्तुलाई तथ्यपरक र विश्वसनीय बनाउन सकिने भन्दै यसको प्रवद्र्धनमा सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टले सूचनाको हकलाई प्रभावकारी बनाउन कार्यालयहरूमा सूचना अधिकारी राखिनु राम्रो अभ्यास भए पनि कतिपय अवस्थामा सूचना अधिकारी नै सूचनाको पहुँचभन्दा बाहिर रहन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सूचनाको हक रिस उठेका बेला नभई जनताको अधिकार प्रवद्र्धनका लागि प्रयोग हुनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेलले सूचनाको हक सम्बन्धी ऐन आएको अठार वर्ष पूरा हुँदा समेत त्यसको प्रभावकारी कार्यान्वयन नभएकोतर्फ समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सूचनाको हक राज्य र जनताबिच सुमधुर सम्बन्ध कायम गर्ने माध्यम भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अभियन्ता तथा पत्रकारहरूसँग समूहगत छलफल समेत गरिएको थियो । छलफलका वक्ताहरूमा महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य, महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्द, महासंघका पूर्वसभापति तारानाथ दाहाल, वरिष्ठ पत्रकार बबिता बस्नेत र दुर्गा दुलाल हुनुहुन्थ्यो । छलफलको सहजीकरण महासचिव रामप्रसाद दाहालले गर्नुभएको थियो ।

मिडियामा सूचनाको हकको प्रयोग, अभ्यास बारेमा पत्रकार तथा शिक्षक एकराज पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा महासंघका पदाधिकारी, सदस्यहरूका साथै विभिन्न निकायका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण महासंघका सचिव बैकुण्ठ राज पराजुलीले गर्नुभएको थियो ।