नेपाल कर्म अनलाइनका सम्पादक सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मितिः २०८३।०४।१७

नेपाल कर्म अनलाइनका सम्पादक सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएको एक व्यक्तिको समाचारलाई लिएर महासंघ सुर्खेत शाखाका उपाध्यक्षसमेत रहेका खड्कालाई लक्षित गर्दै असन्तुलित र उत्तेजनापूर्ण सामग्रीहरू सम्प्रेषण हुँदै आएको शाखाले जनाएको छ ।

पत्रकार खड्काको भनाइ नराखी एकपक्षीय र उत्तेजनापूर्ण अभिव्यक्ति फैलाइरहेका व्यक्तिहरूलाई अनुसन्धानकै क्रममा रहेको विषयमा प्रहरीले अन्तर्वार्ता दिनुका साथै सहज रूपमा अभियुक्त सार्वजनिक हुने वातावरण बनाएको शाखाको भनाइ छ ।

शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाटै यस्तो हर्कत हुनु अत्यन्तै निन्दनीय र खेदजनक विषय हो ।

महासंघ घटनाको छानबिन गरी यस किसिमका गतिविधि गर्ने जो कोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, महासंघ पत्रकार आचारसंहिताप्रति जिम्मेवार भई सत्य, तथ्य र सन्तुलित पत्रकारिताका लागि सञ्चारमाध्यम र पत्रकारलाई पुनः आग्रह गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव