समाचार चित्त नबुझेको भन्दै विभिन्न जिल्लामा कार्यरत पत्रकारलाई धम्क्याउने र अपमानजनक व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०४।११

समाचार चित्त नबुझेको भन्दै विभिन्न जिल्लामा कार्यरत पत्रकारलाई धम्क्याउने र अपमानजनक व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन १० गते अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित ‘कालोकोट लगाएर ठगी धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षक समाचारलाई लिएर अधिवक्ता अनिलबहादुर शाही र उनका आफन्तले सो दैनिकका संवाददाता तथा महासंघ कर्णाली प्रदेश समितिका सचिव विस्नप्रसाद न्यौपानेमाथि अपमानजनक भाषा प्रयोग गरी निराधार आरोप लगाउँदै गालीगलौज गरेको महासंघको कालिकोट शाखाले जनाएको छ ।

त्यस्तै सोही दिन महासंघ कास्की शाखाका सदस्य पत्रकार सुमन ढुंगानालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका–३३ वडा समितिका सभापति दिनेश आचार्यले सेती रिभर साइड रिसोर्टको समाचारलाई लिएर पटकपटक सन्देशमार्फत धम्क्याएको शाखाले जनाएको छ ।

चित्त नबुझेको समाचारको समाधान कानुनी प्रक्रिया वा प्रचलित विधिबाट नखोजी पत्रकारमाथि भएको यस किसिमको व्यवहार अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघ ठान्दछ ।

घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीक रुपमा संविधानप्रदत्त अधिकार उपभोगको वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव