मिति : २०८३/०३/०३
मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)को गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता हो भन्नेमा पापड दृढ छ । तर, वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यताहरूलाई क्रमशः संस्थागत रुपमै कमजोर बनाउदै लान खोज्नु चिन्ताको विषय हो ।
लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासनमात्र होइन, बरु संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली हो भन्ने न्यूनतम सर्तलाई नबिर्सन पापड राज्यका अंगहरूलाई स्मरण गराउन चाहन्छ ।
पछिल्लो पटक सुकुम्बासी बस्ती जबर्जस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामै आँच आउने गरी कार्यपालिकाबाट निर्देशित न्यायापालिका सञ्चालन गर्ने चाहना, संसद्को सक्रिय र प्रभावकारी भूमिका खुम्च्याउन जवाफदेहीताबाट भाग्ने अभ्यास, नागरिक अधिकार संकुचित पार्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकमा आघात पार्ने गरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने, संविधानप्रदत्त पेशागत तथा ट्रेड युनियनलगायतका अधिकारमुखी संघ—संस्थामाथि राज्यको नियन्त्रणमुखी व्यवहार र प्रयास, विश्वविद्यालयहरूको स्वायत्ततामा प्रहार गर्दै शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा स्थापित अभ्यास भत्काएर देखाइएको नीतिगत अस्पष्टता र उदासिनता, आमनागरिकको जीविका, रोजगारी, व्यवसाय तथा सम्मानजनक जीवनयापनमासमेत प्रतिकूल असर पार्ने कदमहरूप्रति पापड विरोध प्रकट गर्दछ ।
अतः पापडमा आवद्ध पेशागत संस्थाहरू सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन, संविधानको अक्षर र भावना दुवैको सम्मान गर्दै लोकतान्त्रिक मूल्य—मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार तथा संस्थागत सन्तुलनको रक्षा गर्न आग्रह गर्दछांै ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चारक्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट भई लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन पापड आह्वान गर्दछ ।
नागरिक अधिकार खुम्च्याउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले यही असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आवहन गरेको र्यालीप्रति पापड ऐक्यवद्धता जनाउँदछ र सबैलाई र्यालीमा सहभागी हुन आह्वान गर्दछ ।
डा. बद्रि रिजाल
अध्यक्ष
नेपाल चिकित्सक संघ
निर्मला शर्मा
अध्यक्ष
नेपाल पत्रकार महासंघ
वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र
अध्यक्ष
नेपाल बार एसोसिएसन
प्रा.डा. रमेशकुमार जोशी
अध्यक्ष
नेपाल प्राध्यापक संघ
श्री लक्ष्मीकिशोर सुवेदी
अध्यक्ष
नेपाल शिक्षक महासंघ
इ. सुवास चन्द्र बराल
अध्यक्ष
नेपाल इन्जिनियर्स एसोसिएसन