नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार यादवलगायतका पत्रकारलाई मनोज मानव भनिने मनोजकुमार महतोले अनेकन आक्षेप लगाउँदै चरित्रहत्या गर्ने उद्देश्यले भिडियो रिल बनाएर सार्वजनिक गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण

मिति : २०८३।०२।०१

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार यादवलगायतका पत्रकारलाई मनोज मानव भनिने मनोजकुमार महतोले अनेकन आक्षेप लगाउँदै चरित्रहत्या गर्ने उद्देश्यले भिडियो रिल बनाएर सार्वजनिक गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।

उनले पछिल्लो पटक पत्रकार यादवको नाम जोडेर सामाजिक सञ्जाल फेसबुकमार्फत यौनजन्य आरोपसहितको भिडियो सार्वजनिक गरेको महासंघ सिरहा शाखाले जनाएको छ ।

प्रविधिको प्रयोग गरेर कुनै पनि व्यक्तिको सामाजिक प्रतिष्ठा, पेशागत निष्ठा र चरित्रमा आघात पुर्‍याउनु सामाजिक अपराधमात्र होइन कानुनी राजको उल्लंघनसमेत हुने महासंघको ठहर छ । महासंघ यस्तो कार्यको भर्त्सना गर्दछ ।

अतः यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

कुटपिटको भर्त्सना

यसैगरी गण्डकी लाइभ डटकमका सम्पादक दिनेश थापालाई हिट नेपाल युट्युव च्यानलका क्यामेरा पर्सन सरोज मोक्तानले कुटपिट गरी घाइते बनाएकोमा महासंघको ध्यानाकर्षण भएको छ ।

वैैशाख ३१ गते बिहीबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रमको समाचार संकलनमा खटिएका थापालाई रक्ताम्मे हुनेगरी कुटपिट गरेको महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघले जनाएको छ ।

नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी पूरा गरिरहेका पत्रकारमाथि भएको आक्रमण गैरजिम्मेवार र व्यावसायिक पत्रकारिताको मर्यादामा प्रहारको रूपमा महासंघले लिएको छ ।

घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै आगामी दिनमा पेशागत मर्यादा र जिम्मेवारीको ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

महासंघ घाइते पत्रकार थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्