मिति : २०८३।०१।३०
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रुपमा लिएको छ ।
सत्ताको आडमा विधायकले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ प्रहरीको साइवर व्यूरोमा उजुरी गर्नु पनि आपत्तिजनक कार्य हो ।
महासंघ समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्याउन सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।
यसैगरी बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।
उक्त अनलाइनमा २०८२ चैत्र २४ र २६ गते सिएनआइका पूर्वअध्यक्ष विष्णु अग्रवालबाट भ्याट र भन्सार छली भएको भनी प्रकाशित समाचार हटाउन सम्पादकका नाममा अन्तरिम आदेश जारी भएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
कुनै पनि समाचारमा चित्त नबुझेमा उजुरी दिने र त्यसको छानबिन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । यो प्रचलित विधि छलेर समाचार हटाउन विपक्षीको सुनुवाई नै नगरी एकतर्फी आदेश आउनु चिन्ताको विषय हो ।
अतः महासंघ यो आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव