पत्रकार माथि भएकाे दुर्व्यवहार र धम्कीकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

मिति : २०८३।०१।१३
किन समाचार लेखेको भन्दै पत्रकार अजयकुमार साहलाई महोत्तरीस्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुँयाल (शंकर) ले दुर्व्यवहार गर्दै हातपातको प्रयास गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त संस्थासँग सम्बन्धित समाचारको निहुँमा यही वैशाख १० गते साहमाथि यस्तो व्यवहार भएको हो । फँुयालले पत्रकारलाई दुर्व्यवहार गरिरहेको भिडियो खिच्ने पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महत्तोमाथि पनि दुर्व्यवहार भएको महासंघ महोत्तरी शाखाले जनाएको छ ।

फेसबुक लाइभबाट महतोमाथिसमेत अनेकन आधारहीन लाञ्छना लगाउँदै मानमर्दन गर्ने अभिव्यक्ति दिएको शाखाको भनाइ छ ।

समाचारमा असहमति भए विधिसम्मत समाधान खोज्न सकिनेमा फँुयालले हुलहुज्जत गर्नु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध हो ।
महासंघ यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यस्तै सञ्चारकर्ममा खटिएका पत्रकार कमल प्रसाइलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ ।

यही वैशाख १२ गते काठमाडौं उपत्यकाको मनोहरा सुकुमवासी बस्ती भत्काइरहेको अवस्थाको समाचार संकलनका क्रममा साँझ ७ बजेतिर आक्रोशित समुहले प्रसाइमाथि आक्रमण गर्दा नाक र कानमा चोट लागेको उनी कार्यरत अनलाइन खबरले जनाएको छ । सो क्रममा प्रसाइको क्यामेराका मेमोरी कार्डसमेत लुटिएको थियो ।

नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाह गर्दा भएको यो आक्रमण निन्दनीय र प्रेसविरोधी छ । महासंघ यो अपराधिक कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

 डाउनलोड गर्नुहोस्