गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८२।१२।१२

२०८२ भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्मविपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको महासंघको ठहर छ ।

पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादक भई काम गरेको हुनुपर्ने जस्ता हास्यास्पद सुझाव दिने चेष्टा गर्नु लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्मविपरीत हो । आयोगले संविधान र विद्यमान कानुनी प्रावधानविपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासंघ असहमति प्रकट गर्दछ ।

समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित यो प्रतिवेदनले भोलिको राज्यसंयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको छ । नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन् भन्ने विषयमा राज्यका सबै निकायलाई महासंघ सचेत गराउँदछ ।

महासंघ पत्रकार आचारसंहिता पालना गरी स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्नेमा सदा सचेत र दृढ छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रम गर्ने जुनसुकै प्रयासको भने कडा प्रतिवाद गर्न बाध्य हुनेछ ।

 

रामप्रसाद दाहाल

महासचिव