मिति : २०८२।११।१७
सात दशक लामो गौरवपूर्ण इतिहास रहेको नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारको हकहितमा समर्पित साझा पेशागत संगठन हो । महासंघ पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै लोकतान्त्रिक पद्धतिको स्थापना र विकासमा समर्पित नागरिक अगुवा संस्था पनि हो ।
नागरिक अगुवा संस्थाको नेतृत्व गरेकै कारण मुलुकमा वर्तमान राजनीतिक अन्योल निर्वाचनको माध्यमबाट अन्त्य हुनुपर्छ भन्ने महासंघ मान्यता राख्दछ । लोकतन्त्रको सुन्दर पक्ष भनेको दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनु हो । जनमतबाट अनुमोदित र लोकतान्त्रिक मूल्य, मान्यतालाई स्थापित गर्न यही फागुन २१ गते आमनिर्वाचनका लागि सबै दलहरू आ–आफ्ना एजेन्डा र उम्मेदवारसहित देशभर प्रचार–प्रसारमा जुटेका छन् ।
जेन्जीको आन्दोलनका बेला सञ्चारगृहले सबैभन्दा बढी भौतिक क्षति, पत्रकारले असुरक्षा र ‘सेल्फ सेन्सरसीप’ व्यहोरेका थिए । अहिले पनि अघोषित सेन्सरसीप छ । ती घटना आफैंमा निन्दनीय हुन् ।
तर, समाजले नेपाली सञ्चारजगतलाई कसरी हेरिरहेको छ भन्ने प्रश्न गम्भीर रूपमा उब्जिएका छन् । संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भरपुर निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्नेमा महासंघ प्रष्ट छ ।
यद्यपि पत्रकार तथा सञ्चारगृहले पनि नियामक निकाय प्रेस काउन्सिल र महासंघको प्रतिबद्धता एवं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालनामा इमान्दारिताका साथ समाजप्रति उत्तरदायी भई समाचार प्रकाशन र प्रसारण गर्न उत्तिकै जरूरी छ ।
वर्तमान अवस्थामा देखिएको संवैधानिक जटिलताका कारण समाज यतिखेर पूरै तरंगित छ । जसका कारण सबैभन्दा बढी सञ्चारजगत जिम्मेवार र संवेदनशील भएर प्रस्तुत हुनुपर्ने अहिलेको अवस्था छ ।
निर्वाचनको बेला भ्रम फैलाउने सूचनाको बिगबिगी सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन् । जसले समाजलाई गलत दिशातिर डोर्याउन खोजेको छ । यसलाई रोक्ने भनेको सञ्चारमाध्यमले नै हो । सही, सत्य र निष्पक्ष समाचारभन्दा अर्को विकल्प छैन । अहिले समाज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुन समाचार हो, कुन होइन भन्ने व्याप्त भ्रममा अल्झेको छ । यस्ता भ्रम मौन अवधिमा अझै बढी फैलाउने प्रयास हुनसक्छन् । समाजका यी भ्रमहरूलाई चिर्न सत्य–तथ्य र निष्पक्षमा आधारित रहेर सामग्री प्रकाशन, प्रसारण गरेमात्रै पत्रकार र सञ्चारगृहले आफ्नो उत्तरदायी भूमिका र व्यावसायिक धर्म पूरा गरेको व्यवहारतः देखिने छ । महासंघ श्रमजीवी पत्रकारको साझा पेशागत संगठन भएकाले यसको साझा चरित्रलाई बचाइ राख्नु प्रत्येक सदस्य र पत्रकार साथीहरूको कतर्व्य हो ।
सञ्चारमाध्यम र पत्रकारहरूले सरोकारवाला पक्ष, संस्थाको चासोप्रति संवेदशील रहेर सम्बोधन गर्नु हरेक संस्था र नेतृत्वको मुख्य दायित्व हो भन्नेमा दुईमत छैन । सम्पूर्ण सहकर्मी साथीहरू, महासंघ श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको विषयलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको विदितै छ ।
थुप्रै श्रमजीवी पत्रकारहरू अहिले पनि पेशागत तथा भौतिक असुरक्षा झेलिरहेकै छन् । निर्वाचनको बेलामा पत्रकारहरूले अझै बढी भौतिक असुरक्षा भोगिरहेका छन् । यी कठिनाइका बीच आसन्न आमचुनाव सफलतापूर्वक सम्पन्न गराउन हामीले लेख्ने समाचार, बोल्ने भाषा, तर्क, विश्लेषणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
संवैधानिक जटिलता देखिएको बेला यसलाई स्थायी निकास दिन हाम्रो पनि उत्तिकै दायित्व छ । संविधान रहेमात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहन्छ । तसर्थ मुलुकको यो संवेदनशील अवस्थामा प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचारसंहिता, महासंघले गरेको प्रतिबद्धतालाई पूर्णरूपले परिपालना गर्न र पेशागत इमान्दारिताका साथ उच्च व्यावसायिकताको पुनर्पुष्टि गर्न सम्पूर्ण पत्रकार र सञ्चागृहलाई महासंघ हार्दिक अपिल गर्दछ ।
निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग अनुरोध गर्दछौं । पत्रकार र सञ्चारमाध्यमका सवारी साधनलाई प्रेस पासका आधारमा निर्वाध रूपमा आवाज–जावत गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्दछौं । र, पत्रकारलाई सुरक्षित रहेर कार्यस्थलमा जुट्न महासंघ अनुरोध गर्दछौं ।
साथै, निर्वाचनको समयमा दुर्गम क्षेत्रमा खटिने पत्रकारहरूको सुरक्षा र आकस्मिक उद्धारका लागि ‘मिडिया सेफ्टी डेस्क’ र आवश्यक परेको खण्डमा हवाई उद्धारको व्यवस्था मिलाउन महासंघ राज्यलाई आग्रह गर्दछ ।
निर्मला शर्मा
अध्यक्ष