पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन आमसञ्चारमाध्यम र पत्रकारलाई महासंघकाे आग्रह

 

मिति : २०८२।११।०५

नवयुवाको विद्रोहको निकासका निम्ति यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनप्रति नेपाल पत्रकार महासंघ गम्भीर सरोकार राख्दछ । निर्वाचनका बेला मिथ्या सूचनाबाट मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन महासंघ आमसञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्दछ ।


पत्रकारिताको सिद्धान्त र आचारसंहिताको पालना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गरी स्वस्थ, स्वतन्त्र, धाँधलीरहित शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा आमसञ्चारमाध्यम र पत्रकारहरूको अहम् भूमिका रहनेमा सन्देह छैन । यसतर्फ समग्र सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र गर्दैआएको सर्वविदितै छ ।

 
निर्वाचनको दिन नजिकिएसँगै केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबबाट विचार, प्रचार र समाचार प्रवाह हुँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालनामा ध्यान नदिएको गुनासोप्रति महासंघ चासो राख्दछ ।


सेतोपाटी अनलाइनले २०८२।११।०३ गते चितवन क्षेत्र नम्बर ३ को निर्वाचनको नतिजा आँकलन गरेको विषय र ४ गते निर्वाचन शीर्षकमै प्रकाशित गरेको समाचार निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरित रहेको भनी आएका टिप्पणीहरुप्रति महासंघको ध्यानाकर्षण भएको छ ।

 
सञ्चारमाध्यमका सामग्रीप्रति असहमत पक्षले विधिअनुसार समाधान खोज्न सक्नेमा उक्त अनलाइनका प्रधान सम्पादक अमित ढकालमाथि सामाजिक सञ्जालबाट ट्रोल गरिएकोप्रति पनि महासंघ आपत्ति प्रकट गर्दछ । भविष्यमा यस्ता घट्नाहरु नदोहोर्‍याउन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ ।


साथै, महासंघ समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै आफ्‌ना सामग्रीहरू प्रकाशन र प्रसारण गर्न पनि आहृवान गर्दछ ।


रामप्रसाद दाहाल
महासचिव