रिपब्लिक मिडियाको सरकारी सुविधा रोक्का गर्न पत्रकार महासंघको पत्राचार

रिपब्लिक मिडियाको सरकारी सुविधा रोक्का गर्न पत्रकार महासंघको पत्राचार



२०८२ माघ १६

 

माघ १५, काठमाडौं । नेपाल पत्रकार महासंघले रिपब्लिक मिडिया लिमिटेडमा भइरहेको आन्दोलनबारे महासंघका पूर्वअध्यक्षहरूसँग आज छलफल गरेको छ । छलफलबाट प्राप्त सुझावका आधारमा महासंघले उक्त लिमिटेडले राज्यका निकायबाट प्राप्त गर्ने सेवा सुविधा श्रम समस्या हल नभएसम्मका लागि रोक्का राख्न पत्राचार गरेको छ । 

२०८२ साउन २२ गते नागरिक दैनिकको प्रकाशक संस्था उक्त लिमिटेडले महासंघसँग गरेको चारबुँदे सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने महासंघको निर्णय बमोजिम सम्बद्ध निकायहरूलाई पत्राचार गरिएको महासचिव रामप्रसाद दाहालले बताउनुभयो ।

आजको छलफलमा महासंघका पूर्वअध्यक्षहरुले महासंघलाई श्रमजीवी पत्रकारको हितको पक्षमा दृढतापूर्वक अगाडि बढ्न सुझाव दिनुभएको थियो । उहाँहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रम अधिकार फरक फरक विषय रहेकाले श्रम अधिकारको पक्षमा हुने आन्दोलनबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको मान्न नसकिने धारणा राख्नुभयो ।   

महासंघका अध्यक्ष निर्मला शर्माले महासंघले श्रमजीवी पत्रकारका पक्षमा गरिरहेको आन्दोलन परिणाम प्राप्त नभएसम्म जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्ष तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक दीपक आचार्यले रिपब्लिक मिडियाले महासंघसँग भएको सम्झौता कार्यान्वयन नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो । छलफलमा महासंघका उपाध्यक्ष नीतु पण्डित, उमिद बागचन्द, सचिव रमेश खतिवडा, कोषाध्यक्ष रामकृष्ण अधिकारी समेतको उपस्थिति रहेको थियो ।