सन् २०२५ मा प्रेस स्वतन्त्रता हननको अवस्थाः अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बर घटना

 

मिति : २०८२/०९/१६

सन् २०२५ प्रेस स्वतन्त्रता हननका दृष्टिले निकै भयावह वर्ष रह्यो । नेपाल पत्रकार महासंघले गरेको अनुगमनमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ घटना अभिलेख भएका छन् । जसबाट २१८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । गत वर्ष ६० र सन् २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका थिए । सन् २०२४ को तथ्यांकसँग तुलना गर्दा सन् २०२५ मा करिब तेब्बरको हाराहारीमा हननका घटनामा वृद्धि भएको देखिन्छ ।
यो वर्ष दुई जना पत्रकारको शंकास्पद मृत्यु हुन पुग्यो । गत मार्च २८ तारिकका दिन तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङ्गका क्रममा एभिन्युजका पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो । पत्रकार अजय गोर्खालीको मृत्यु र त्यसपछि सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइले उनको मृत्यु पनि रहस्यको घेराभित्र रहेको आशंका गर्न सकिने महासंघको चितवन शाखाले जनाएको छ ।

यो वर्ष सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने गरी केही कानुनी प्रवन्ध गर्न खोज्यो भने केही कानुनले संविधानप्रदत्त सञ्चारमाध्यम दर्ता र नवीकरण जस्ता हक केही अवधि निलम्बित भयो । सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गरी कठोर प्रधान ल्यायो भने फेसबुकसहित नेपालमा चर्चित रहेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय ग¥यो ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा एकसय भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भए । जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भयो । उक्त घटनाबाट संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भए । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनमा विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी तथा लुटपाट गरियो ।

महासंघको विमतिबीच संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत विभिन्न सञ्चारसम्बन्धी विधेयक विभिन्न समितिहरूबाट अघि बढिरहेका बेलामा अकस्मात भएको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनले संघीय संसद् नै विघट भयो । सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीमा कतिपय प्रावधान प्रेस स्वतन्त्रतामा असर पार्ने खालका देखिएको छ ।

समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा अधिक वृद्धिका साथै विभिन्न आन्दोलन, कानुन र नीति सुधारमा निष्क्रियता, पत्रकारितामा लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभाव, पत्रकारविरुद्धको अपराधसम्बन्धी दण्डहीनताप्रतिको उदासीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा झनझन गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमलगायतका कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ ।

अतः सञ्चार क्षेत्रको आर्थिक संकट र दीगोपन, पत्रकार पलायन, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामू चुनौती रहेका छन् । संविधान उल्लंघन तथा गैरसंसदीय सरकार गठन भएको यो बेला आगामी फागुन २१ गते का लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा भएको छ । महासंघ निर्वाचन 

शान्तिपुर्ण वातावरणमा सम्पन्न होस् र मुलुक पुनः लोकतान्त्रिक मार्गमा अगाडि बढोस् भन्ने अपेक्षा राख्दछ । र निर्वाचनका क्रममा हुन सक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन प्रेस जगत र सरोकारवालाहरुसँग आह्वान गर्दछ ।
महासंघ प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार संरक्षणका लागि पैरवी, खबरदारीका साथै आवश्यक पर्दा आन्दोलित हुन प्रतिवद्धता व्यक्त गर्दछ र सन् २०२६ को अवसरमा महासंघ परिवार आफ्ना सदस्यहरु, सम्पूर्ण पत्रकार एवम् सञ्चारकर्मी तथा नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । आगामी वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेखनीय कमी आओस् भन्ने कामना गर्दछ ।

सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका घटनाहरु यसप्रकार रहेका छन् 

क्र.स                                                       घटना संख्या     पीडित महिला     पीडित पुरुष    सञ्चार संस्था     सञ्चार सामाग्री
१    हत्या                                                         २                                            २        
२    वेपत्ता                                                           –                  –                  –                  –                      –
३    गिरफ्तारी                                                  २                १                          १        
४    कब्जा÷अवरोध                                          १९                 १                       २०                        ११    
५    आक्रमण / तोडफोड / आगजनी                    ४२               ३                        ७३                       १५                   १८
६    दुव्र्यवहार÷धम्की                                      ५३                 ४                        ७०                       ५    
७    विस्थापन                                                   १                                           १        
८    पेशागत असुरक्षा                                         १८               १२                       ३०        
९    लैङ्गिक हिंसा                                                –                  –                       –                    –                            –
१०    नीतिगत बन्देज                                            २                
    जम्मा घटना                                                  १३९               २१                    १९७                   ३१    


स्रोत : नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखा । ३१ डिसेम्बर २०२५ 

 
रामप्रसाद दाहाल 
महासचिव

 डाउनलोड गर्नुहोस्