धनुषास्थित मुखियापट्टी मुसहरियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले समाचार संकलनका क्रममा पत्रकारलाइ दुर्व्यवहार र आक्रमणको प्रयास गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०२।०५

समाचार संकलनका लागि धनुषास्थित मुखियापट्टी मुसहरियाँ गाउँपालिकाको कार्यालयमा पुगेका कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर र मुलुक टाइम्स मासिकका बद्रीनाथ झालाई अध्यक्ष जयकुमार यादवले अनुमतिबिना कार्यकक्षमा प्रवेश गरेको भन्दै दुर्व्यवहार र आक्रमणको प्रयास गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही जेठ ४ गते आइतबार स्थानीय जनप्रतिनिधिसँगै कार्यालय पुगेका पत्रकारमाथि गाउँपालिकाका अध्यक्षबाट यस प्रकारको व्यवहार भएकोे महासंघ मधेस प्रदेश समितिले जनाएको छ ।

स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह लागि पुगेका पत्रकारलाई जिम्मेवार व्यक्तिबाट अपनाइएको यो शैली अमर्यादित र अशिष्ट हुनुका साथै प्रेस स्वतन्त्रतामाथि ज्यादती भएको महासंघ ठान्दछ ।

महासंघ प्रेसविरोधी यो कदमको कडा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक सुनिश्चितताको सम्मान गर्न तथा यसखाले घटना दोहोरिन नदिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्