प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार भेषराज पौडेलको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०८२।०१।३०

प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार भेषराज पौडेलको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । ७५ वर्षीय पौडेलको २०८२ वैशाख २९ गते निधन भएको हो ।

२०४२ सालमा दाङबाट जय नेपाल नामक पत्रिका प्रकाशन गरेर पत्रकारिता सुरु गर्नुभएका पौडेल २०४८ सालमा बर्दिया आई लामो सयमसम्म पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य हुँदै बर्दिया शाखामा आवद्ध रहेर हाल मानार्थ सदस्यको रुपमा रहनु भएका पौडेल शाखाको पूर्वसल्लाहकारसमेत हुनुहुन्थ्यो ।

उहाँलाई नेपाल पत्रकार महासंघले २०८१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित गरेको थियो । उहाँको निधनले नेपाली पत्रकारिता जगत्‌ले एक अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

…………………….

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्