नवलपरासीस्थित सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई बदनाम गर्न खोजेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति २०८२।०१।२८

नवलपरासीस्थित सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई बदनाम गर्न खोजेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

‘उपियाँको खोज अनुसन्धानमा पिएचडी गरेका विद्वान्लाई गाईको बारेमा लेख लेख्न दिइएको’ भन्ने आफ्नो स्ट्याटसमा आएको आलोचनात्मक टिप्पणीलाई लिएर प्रमुख अर्यालले ‘सत्य–तथ्य विषय ल्याउने उत्कृष्ट पत्रकारलाई यत्रो आरोप, अरु सत्य–तथ्य नबुझी लेख्ने झोलेहरू कुनै प्रश्न छैन किन ?’ भन्दै पत्रकारलाई होच्याउने र अपहेलना गर्नेखालको स्ट्याटस लेखेको महासंघ नवलपरासी (व.सु.प.) शाखाले जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित र प्रसारित लेख या विचारमा चित्त नबुझे त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिले यस किसिमको शैली अपनाउनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।

महासंघ प्रेसविरोधी यो हर्कतप्रति आपत्ति प्रकट गर्दछ । र, प्रेसको संवैधानिक प्रावधानको ख्याल राखी सम्मान गर्न, कुनै पनि वहानामा पत्रकारमाथि यस्ता हर्कत नदोहोरिनेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्