मिति : २०८२।०१।१४
प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको जानकारी महासंघमा प्राप्त भएको छ ।
घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।
महासंघ घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दैे घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव