मिति : २०८१।११।१२
प्रकाशित समाचारलाई लिएर पश्चिम टुडे दैनिक र पश्चिम टुडे अनलाइनका सम्पादक दीर्घराज उपाध्यायलाई सामाजिक सञ्जालको माध्यमबाट धम्क्याउने र मानसिक तनाव दिने कार्य भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।
२०८१ फागुन ५ गते ‘धनगढीको उज्यालोः भ्रम र वास्तविकता’ शीर्षकको लेख र ‘मेयरले हाम्रो घाटी निमोठेः विस्थापितहरु भन्छन, ‘बाँच्न गाह्रो भयो, विष खान पनि पैसा छैन’ शीर्षक समाचार तथा फागुन ६ गते ‘धनगढीको उज्यालोः भ्रम र वास्तविकता भाग २ शीर्षकमा लेख प्रकाशित भएको थियो ।
सोही लेख र समाचारको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा ‘फेक आइडी’ बनाइ उक्त आइडीबाट सम्पादक उपाध्यायलाई धम्क्याउने, परिवारका बारे अनावश्यक कुरा लेखेर मानसिक तनाव दिनेजस्ता कार्य भएको महासंघ कैलाली शाखाले जनाएको छ ।
प्रकाशित समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रियामा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने स्थापित पद्धति छ । त्यसलाई छाडेर पत्रकारलाई डर, त्रास र धम्की दिने तथा परिवारका बारे अनर्गल भ्रम फैलाइ मानसिक तनाव दिने र निन्दा गर्ने काम हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्यको रूपमा महासंघले लिएको छ । यो कार्य सामाजिक अपराध पनि हो ।
महासंघ संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पु¥याउने तथा पत्रकारलाई असुरक्षित र तनाव बढाउने यो अपराधिक कार्यमा संलग्न जो कोही भए पनि तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन तथा पत्रकारको सुरक्षामा विशेष ध्यान दिँदै यस्ता हर्कत नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव