विज्ञापन बोर्डकाे २०८० वैशाख ३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०८०।०२।०७

विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी २०८०।०१।३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ ।

कोरोना संक्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धरासायी हुने महासंघको ठहर छ ।

लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध छ । महासंघ छापामाध्यमको हितविरुद्ध हुने यस्ता निणर्य तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्