समाचारकाे विषयलाइ लिएर ज्वालाखबर डटकमका सम्पादक कर्ण विश्वकर्म र पत्रकार खड्क विश्वकर्मालाई सामाजिक सञ्जालमार्फत धम्की दिएकोमा महासंघको ध्यानाकर्षण

मिति : २०८२।०१।२०

प्रकाशित समाचार चित्त नबुझेको भन्दै ज्वालाखबर डटकमका सम्पादक कर्ण विश्वकर्म र पत्रकार खड्क विश्वकर्मालाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा २०८२ वैशाख १६ गते मंगलबार ‘मुख्यमन्त्रीदेखि स्थानीय माओवादी नेताको कमिशन काण्डः रास्कोटका विद्यालयबाट मात्रै लाखौं असुली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही विषयलाई लिएर रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही ‘पोषण’ लगायतका व्यक्तिले पत्रकारद्वयलाई टेलिफोन र सामाजिक सञ्जालका माध्यमबाट आक्रमणको धम्की दिएको महासंघ कर्णाली प्रदेश समितिले जनाएको छ । सम्पादक कर्ण महासंघ कालिकोट शाखाका सदस्यसमेत हुनुहन्छ।

समाचारमा चित्त नबुझे कानुनी उपचार या विधिसम्वत् प्रक्रियामा जानुको साटो सामाजिक सञ्जालबाट पत्रकारलाई धम्कीपूर्ण अभिव्यक्ति दिने यस्तो कदमलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कतका रूपमा लिएको छ ।

महासंघ यस्ता हर्कतप्रति आपत्ति प्रकट गर्दै खेद व्यक्त गर्दछ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई निर्वाध र भयरहित वातावरणमा सञ्चारकर्ममा जुट्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

.....................

रामप्रसाद दाहाल

महासचिव

 Download