वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष

 

मिति : २०८१/०१/०१

नयाँ वर्ष विक्रम संवत् २०८१ आजदेखि शुभारम्भ भएको छ । नयाँ वर्ष शुभारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्था तथा समग्र नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

अघिल्लो वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेका छन् । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन् ।

नेपाल पत्रकार महासंघमा दर्ता भएका श्रम समस्याहरू विस्तारै हल हँुदै गएपनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ । सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना गत वर्षको तुलनामा बढेका छन् । आम सञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न सकेका छैनन् । तीनवटै तहका सरकारले बनाएका र बनाउने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन थप दबाब दिन आवश्यक छ ।

क्र.स. घटना संख्या

१. पक्राउ ३

२. कब्जा/अवरोध ३

३. आक्रमण १५

४. दुव्र्यवहार/धम्की ३०

५. पेशागत असुरक्षा १२

६. लैङ्गिक हिंसा १

जम्मा घटना ६४

स्रोत : नेपाल पत्रकार महासंघ, मिडिया मनिटरिङ । २०८१, बैशाख १

नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार २०८० सालमा प्रेस स्वतन्त्रता हनन्का ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुव्र्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना संकलनमा अवरोध गर्ने जस्ता घटना महासंघमा अभिलेख भएका छन् । २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हनन्का ७४ घटना भएका थिए ।

नेपाल पत्रकार महासंघले नयाँ वर्षसँगै समग्र पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा बहस प्रारम्भ गरेको छ । वैशाख २१ र २२ गते लुम्बिनीमा हुने महासंघको महाधिवेशनलाई यही विषयमा केन्द्रित गरिएको छ । पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा गम्भीर छलफल गर्ने र त्यसका निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिवद्धता महासंघ व्यक्त गर्दछ ।

विसं २०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको थियो । पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायतका कानुन कार्यान्वयनको प्रत्याभूति, नागरिकको संवैधानिक अधिकार, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गर्दै महासंघ नयाँ वर्षसँगै सरकार, आम नागरिक, सरोकार राख्ने संघसंस्थालगायतको सहयोगको अपेक्षा गर्दछ ।

नयाँ वर्ष २०८१ शुभ होस्, धन्यवाद ।

रोसन पुरी

महासचिव

 Download