प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मिति : २०८०।०५।१२

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उमेरमा जनकपुरस्थित म्याक्स अस्पतलामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । विगत ६ महिनादेखि सिकिस्त रही घर र अस्पताल गरेर उपचारत रहेका वरिष्ठ पत्रकार नेपालीको सोही क्रममा भाद्र ११ गते सोमबार बेलुका ८ः०५ बजे अस्पतालमा निधन भएको हो ।

विगत १४ महिनादेखि विरामी परेका वरिष्ठ पत्रकार नेपाली पछिल्लो समय प्रोस्टेड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । यसअघि उहाँलाई उपचारको लागि भारतको दिल्लीस्थित विभिन्न अस्पतालमा समेत भर्ना गरिएको थियो ।

तत्कालीन नेपाल पत्रकार संघ (२०४६ असारदेखि २०४९ चैत्रसम्म) को केन्द्रीय सदस्य रहनु भएका वरिष्ठ पत्रकार नेपालीले वि. संं. २०५२ जेठदेखि २०५४ भाद्रसम्म नेपाल पत्रकार महासंघको सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । महासंघको जिल्ला तथा केन्द्रीय तहको केन्द्रीय प्रतिनिधि तथा विभिन्न समितिमा रहेर उल्लेख्य योगदान दिएका वरिष्ठ पत्रकार नेपालीलाई वि. सं. २०६५ मा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान गरेको थियो ।

वि. सं. २०१८ सालदेखि पत्रकारिता सुरु गरेका वरिष्ठ पत्रकार नेपालीको लोकमत दैनिक, नेपाल टाइम्स, राष्ट्रपुकार, समीक्षा, नेपाल पुकार, विश्वसन्देश, तरुण, नेपालवाणीलगायतका साप्ताहिक पत्रपत्रिका र हिन्दुस्तान दैनिक पत्रिकासहित दुई दर्जनभन्दा बढी पत्रपत्रिकामा लेख रचना प्रकाशित भएका थिए । समाचार लेखेकै कारण वरिष्ठ पत्रकार नेपालीले पटक जेल जीवन बिताउनु भएको थियो ।

महासंघ धनुषा शाखाको अभिभावकीय भूमिका निर्वाह गर्दै आएका वरिष्ठ पत्रकार नेपालीले साहित्य क्षेत्रमा समेत उल्लेख्य योगदान दिनुभएको छ । वि. सं. २०१५ सालमा जानकी नौमीमा कविता लेखन तथा वाचन गरेर साहित्य लेखन सुरु गरेका वरिष्ठ पत्रकार नेपालीले नेपाली, मैथली र हिन्दी साहित्यमा कलम चलाउनु भएको थियो । वरिष्ठ पत्रकार नेपालीका हाल एक छोरा र तीन छोरी हुनुहुन्छ ।

खासगरी मधेसको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका वरिष्ठ पत्रकार नेपालीको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ धनुषा शाखाले एक सक्रिय अभिभावक गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download