नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा प्रकाशित सामग्रीलाइ लिएर अन्नपूर्ण मिडियाका अध्यक्षलाई सोधिएको स्पष्टीकरणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०५।०४

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा प्रकाशित सामग्रीलाइ लिएर अन्नपूर्ण मिडियाका अध्यक्षलाई सोधिएको स्पष्टीकरणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा उडान सुरक्षाका विषयमा समाचार सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीले उडान सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्ने र असर पु¥याउने भ्रामक र अफवाह फैलाउने खालको भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भाद्र १ गते स्पष्टीकरण पत्र पठाइ ७ दिनभित्र जवाफ पठाउन माग गरेको अन्नपूर्ण मिडिया नेटवर्कले महासंघलाई जानकारी गराएको छ ।

कुनै पनि विषयमा संप्रेषण भएका सामग्रीका सन्दर्भमा चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रचलित प्रावधान र पद्धति छन् । कुनै पनि सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरूको उत्तरदायित्व र सम्पादकीय नेतृत्व हुन्छ । सम्पादकीय स्वतन्त्रताको अभ्यासलाई आघात पुग्नेगरी सम्पादकीय समूहसँग असम्बन्धित पात्रलाई राज्यका निकायले स्पष्टीकरण सोध्नु कुनै पनि कोणबाट उचित हुनसक्दैन ।

त्यसरी अनधिकृत रूपमा स्पष्टीकरण सोधिनु असोभनीय र पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक परिकल्पनाविपरीत भएको महासंघको ठहर छ । महासंघ आफ्नो क्षेत्राधिकार र परिधिभित्र रही प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी अनधिकृत रूपमा सोधिएको स्पष्टीकरण फिर्ता लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 Download