समाचार संकलनका क्रममा प्रहरीले कञ्चनपुरका पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८०।०२।०४

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य तथा सीमारेखा डटकमका प्रधानसम्पादक राजेन्द्र नाथ र सगरमाथा टेलिभिजन र स्थानीय आभाषकुन्ज दैनिकमा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले समाचार संकलनका क्रममा कुटपिट गरी नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कञ्चनपुर शाखाका अनुसार जेठ २ गते मंगलबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको सुकासाल चोकमा प्रहरी र भारतबाट सामान ल्याउनेहरूबीच झडप भएको थियो । सोही झडपको स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकारद्वय नाथ र कुँवरलाई प्रहरीले दुर्व्यवहार गर्दै निर्घात कुटपिट गरी सञ्चार सामग्री नियन्त्रणमा लिई पत्रकार नाथलाई हतकडी लगाई हिरासतमा लिएको थियो ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको निर्मम प्रहार हो । शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाटै पत्रकारलाई आतंकित र त्रसित बनाउने हर्कत हुनु अत्यन्त निन्दनीय र खेदजनक विषय हो ।

महासंघ घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र निर्भीक रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download