विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ सन् २०२३ को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिनुभएको शुभकामना सन्देश

मिति : २०८०/०१/२० 

मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महŒवका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो ।

यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ । यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पु¥याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यो वर्षका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारहरूको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई बढिभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्नेगरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।

नेपालमा पनि यस दिन नेपाल पत्रकार महासंघको आयोजनामा देशभर यस्ता चर्चा परिचर्चाहरू हुँदैछन् । काठमाडौंमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दा गर्दै मृत्युवरण गर्न पुगेका पत्रकारहरूको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गर्दै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षको खोजी गर्र्नेगरी कार्यक्रमको आयोजना गरेको छ । नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्नसकिने अवस्था छैन । भौतिक हमला र पेशागत असुरक्षा दुवैले पत्रकारहरूलाई त्रासमा राखेको अवस्था छ भने इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्दै पत्रकारहरूलाई निरुत्साहित गर्ने, अपमानित गर्नेखालका नयाँ प्रवृत्तिहरू पनि देखिन थालेका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पनि पत्रकारहरूको पेशागत सुरक्षाको अभाव जनाउँदै सैयांै उजुरीहरू आएका छन्।

बद्लिदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौतिहरू थपिदै गएका छन् । ईन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरका बीच संघर्षरत छ । कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटनाहरू बढ्न थालेको छन् । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रकाहरू पारिश्रमिकबाट वञ्चित छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हनन्का ५५ वटा घटना भएका छन् । गत वर्ष यही अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए ।

यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् । महासंघको सञ्चार अनुगमन इकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन् । कब्जा अवरोधका ७ , दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरू पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्किका सन्देशहरू पुग्ने गरेका छन् । यस्ता धम्किहरूको आधिकारिक तथ्यांक पाइदैन । तर पनि पत्रकार महासंघका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्ताहरूसँको संवादको आधारमा यो संख्या सामान्य रूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने अड्कल गर्नसकिन्छ ।

प्रेस स्वतन्त्रतामाथिका यस्ता विविधखाले आक्रमणका प्रवृत्तिहरूलाई निरुत्साहित गर्नका लागि अभियान नै थाल्नु पर्ने अवस्था छ । डिजिटल सुरक्षा, मिडिया साक्षरताजस्ता अभियानहरू यतिबेला आवश्यक महशुस भएका छन् । महासंघले सुरु गरेको फ्रि मिडिया नेटवर्कजस्ता सञ्जालहरूमार्फत मिडिया र नागरिक समाजका बीचमा नियमित अन्तरक्रिया गर्दा पनि प्रेस स्वतन्त्रताका सवालमा नागरिक समाजको साथ पाउने अनुभव हामीले गर्न थालेका छौं । त्यसैगरी संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई अभ्यासमा पनि महसुस गर्नसक्ने बनाउनका लागि आवश्यक कानुन निर्माण गर्ने कुरालाई पनि उत्तिकै प्राथमिकतामा राख्न जरुरी छ ।

मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास थालेको पनि ८ वर्ष भैसकेको छ । तर, यतिका अवधि भैसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुनहरू निर्माण हुन सकिरहेका छैनन् । आमसञ्चार नीति २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव भएको छ, जस्ले गर्दा संघीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको जस्तो गरी पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन । पत्रकारिता क्षेत्रमा आएका नयाँ आयम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने चुनौतीलाई सम्बोधन गर्नेगरी कानुनहरू निर्माण गरेर अगाडि बढ्नु पर्ने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । अघिल्लो संसदमा पेश गर्नका लागि बनाइएका कानुनका मस्यौदाहरूलाई परिमार्जन गरेर नयाँ संसद्मा पेश गर्नका लागि सरकारले काम गरिरहेको जनाएको छ । त्यो परिमार्जनले हामीले खोजेको जस्तो कानुन निर्माणको सुनिश्चितता गरोस् भनेर हामीले गम्भीर चासो दिन आवश्यक छ र दिइ पनि राखेका छौं ।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनैतिक शक्ति अझै पनि अनुदार रहेको अनुभूति हामीले गर्न परिरहेको छ । सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्ध कानुन र मुद्दाहरू पर्ने गरेका छैनन् । सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सुनिदै आएको अवस्था छ । तर, यति हुँदाहुँदै पनि निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था छ । प्रेसमैत्री कानुन निर्माणका लागि पनि हाम्रो खबरदारीले काम गरिरहेको छ । हाम्रो लडाइँका कारण स्थगित भएका कानुन निर्माणका प्रक्रियाहरूलाई सही ढंगले अगाडि बढाउन राज्यसँग हामीले प्रतिबद्धता खोजिरहेका छौं ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुने छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने छन् भन्ने मैले विश्वास लिएको छु ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन । नागरिकहरूको सुसूचित हुनपाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महŒवपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भएता पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्नसकेको छैन । त्यसकारण प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पु¥याउन महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी छ ।

अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भीकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विपुल पोख्रेल

अध्यक्ष

 Download