सञ्चार गृहमा विभिन्न वहानामा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता अनेक खाले समस्याहरु बढ्दै जान थालेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण

मिति :२०७९/०१/०४

सञ्चार गृहमा विभिन्न वहानामा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता अनेक खाले समस्याहरु बढ्दै जान थालेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।
यस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह समस्या समाधानप्रति गम्भीर नबन्दा ती सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन् ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराइ पत्रकारका समस्या समाधान गर्नुपर्ने तर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन । सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।

सञ्चारगृहमा नियुक्ति पत्र नदिने, न्यूनतम पारिश्रमिक समेत नदिने र धेरै जसो सञ्चारगृहले स्ट्रीन्जरका नाममा अहिले सञ्चारकर्मीलाई लामो समयसम्म राख्ने, प्रयोग गर्ने तर पछि बिनाकारण हटाउने समस्या देखा परेको छ । एकातिर राज्यका तर्फबाट पत्रकार महासंघकै  पहलमा सहुलियतपूर्ण ऋण पनि लिने र अर्काेतिर श्रमजीवी पत्रकारको समस्यातिर कुनै चासो र चिन्ता नदेखाउने प्रवृत्तिसँग महासंघ सहमत हुन सक्दैन । 

जसकाकारण सहुलियतपूर्ण ऋणका लागि पनि पत्रकार महासंघले अनुगमनका लागि राज्यलाई झक्झकाउन थालेको छ । अर्काेतर्फ अब नीतिगत रुपमा नै सञ्चारगृहबाट स्ट्रिन्जर उन्मुलनलाई अभियान कै रुपमा लैजाने निश्कर्षमा महासंघ पुगेको छ ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, निष्काशित पत्रकारको पूर्नवहाली, पारिश्रमिक र सेवा सुविधाका लागि दवाब, कोभिडका कारण सचारगृहले प्राप्त गरेका सहुलियतपूर्ण ऋणको अनुगमन र पारदर्शीताका लागी दबाव सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखामार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समिति तथा आम पत्रकारलाई घोषित संघर्षका कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दछ ।   


आन्दोलनका कार्यक्रम :
१) कान्तिपुर टेलिभिजन
 मिति : २०७९ वैशाख ५ र ६ गते 
धर्ना स्थान : कान्तिपुर टेलिभिजन कार्यालय तीनकुने काठमाडौं 
समय : दिउँसो १२ वजेदेखि १ बजेसम्म 
२) नागरिक दैनिक
मिति : २०७९ वैशाख ७ र ८ गते 
धर्ना स्थान : नागरीक दैनिक, सुन्धारा काठमाडौं । 
समय : दिउँसो १२ वजेदेखि १ बजेसम्म 

 

रोसन पुरी
महासचिव