पूर्वसभापति वरिष्ठ पत्रकार मणिराज उपाध्याय निधन ः महासंघ स्तब्ध

२०७३/०९/२८

नेपाल पत्रकार महासंघका पूर्वसभापति वरिष्ठ पत्रकार मणिराज उपाध्यायको ९४ वर्षको उमेरमा हिजो राती ८ः०० बजे हृदयघातबाट गंगालाल अस्पताल बाँसवारीमा निधन भएकोमा महासंघ स्तब्ध भएको छ । उहाँको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक गुमाएको छ । महासंघ स्वर्गीय उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका दुई छोरा र एक छोरीसहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

 

विक्रम सम्बत् १९८० साल जेठ २४ गते काठमाडौंमा पिता प्रयागराज उपाध्याय र माता सुलक्ष्मी उपाध्यायको पुत्रको रुपमा जन्मिुनभएका उपाध्यायले २००८ सालमा प्रजापरिषद्को मुखपत्रका रुपमा प्रकाशित ‘सहीरास्ता’ बाट पत्रकारिता सुरू गर्नु भएको थियो । २०११ सालदेखि समाज दैनिकमा संलग्न रही समाज दैनिक चलुञ्जेल २०५३ सालसम्म नै सो पत्रिकाको सम्पादक÷प्रकाशकको जिम्मेवारी निर्वाह गर्नुभएका उपाध्यायले त्यसपछि पनि लेखनलाई निरन्तरता दिइरहनुभएको थियो । निरंकुश पञ्चायती व्यवस्थाको चंगुलबाट तत्कालीन पत्रकार संघलाई छुटाएर सशक्त, आलोचनात्मक र प्रेस स्वतन्त्रताको पहरेदार संस्थाका रुपमा स्थापित गर्न अहं भूमिका निर्वाह गर्नुभएका उपाध्याय नेपाल पत्रकार महासंघको २०४३ देखि २०४६ सम्म सभापति रहनुभएको थियो ।

 

स्वतन्त्र, निर्भीक र राष्ट्रवादी पत्रकारको छवि बनाउनुभएका स्वर्गीय उपाध्याय प्रेस स्वतन्त्रता सेनानी, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारलगायत थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

 

स्वर्गीय उपाध्यायको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि महासंघले आयोजना गरेको श्रद्धाञ्जलिसभामा महासंघका तर्फबाट अध्यक्ष डा. महेन्द्र विष्टबाट उहाँको पार्थीव शरीरमा महासंघको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, पूर्वउपप्रधानमन्त्री कमल थापा, महासंघका पूर्वअध्यक्ष, पदाधिकारी तथा पत्रकार एवं शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

 

नेपाली पत्रकारिता जगतका स्तम्भ नेपाल पत्रकार महासंघका अगुवा पूर्वसभापति स्वर्गीय उपाध्यायप्रति महासंघले उच्च सम्मान प्रकट गर्दै आज एक दिन महासंघका केन्द्रीय तथा स्थानीय कार्यालयहरु विदा दिनुका साथै कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

.........................

डा. महेन्द्र विष्ट

अध्यक्ष