नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७८।०१।०९

 

नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

दाङको घाराही–१७ निवासी ४१ वर्षीय पत्रकार अधिकारीको काठमाडौंमा उपचारका क्रममा वैशाख ७ गते मंगलबार निधन भएको थियो भने झापाबाट पत्रकािरता सुरु गरी हाल काठमाडौंमा पत्रकारिता गरिरहेका मिश्रको वैशाख १ गते राति ४९ वर्षको उमेरमा काठमाडौंस्थित टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

महासंघ स्वर्गीय पत्रकारद्वय अधिकारी र मिश्रप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण यसअघि ६ जना पत्रकारको निधन भएको थियो भने ४ सयभन्दा बढी संक्रमित भएका थिए । पछिल्लो केही दिनयता कोरोना संक्रमितको दर दिनानुदिन बढिरहेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।
 

रोसन पुरी
महासचिव

 Download