प्रेस काउन्सिल नेपालले समाधान गरिसकेको विषयमा पनि प्रहरीले पक्राउ गर्ने उद्देश्यले पत्रकारलाइ खोजतलास गरिरहेको तथा परिवारका सदस्यलाई अनावश्यक दुःख दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०१।०६

प्रेस काउन्सिल नेपालले समाधान गरिसकेको विषयमा पनि प्रहरीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्मा र उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतलाई पक्राउ गर्ने उद्देश्यले खोजतलास गरिरहेको तथा परिवारका सदस्यलाई अनावश्यक दुःख दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

काउन्सिलले निरुपण गरेपछि पनि केन्द्रीय सदस्य शर्माको भक्तपुर दुवाकोटस्थित घर तथा काठमाडौं विजुली बजारस्थित कार्यालयमा प्रहरीले निरन्तर निगरानी गरेर परिवारका सदस्यलाई मानसिक दबाब दिइरहेको छ । त्यस्तै लोप्चन र तामाङको काभ्रेस्थित घर तथा कार्यालय र काठमाडौंस्थित डेरामा पुगेर प्रहरीले निरन्तर निगरानी गर्दा परिवारका सदस्यहरू आतंकित बन्न पुगेका छन् ।

प्रकाशित समाचारको सम्बन्धमा प्रेस काउन्सिल नेपालमार्फत निरुपण भइसकेको विषयमा प्रहरीले त्यसलाई बेवास्ता गर्दै पत्रकार पक्राउ गर्न खोज्नु तथा परिवारका सदस्यलाई अनावश्यक दुःख दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । राज्य सत्ताको आडमा सरकारले देखाएको यो हर्कत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुनुका साथै प्रेस काउन्सिलको क्षेत्राधिकारमाथि पनि हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघ सरकारको यो रवैया तत्काल सच्याउन आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहितालाई ध्यान दिन आहृवान गर्दछ ।
 

रोसन पुरी
महासचिव

 Download