महासंघको २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकको निर्णयहरू :

मिति  : २०७८।०१।०५



नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आज महासंघ केन्द्रीय कार्यालयमा बस्यो । नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकको निर्णयहरू यसप्रकार रहेको छ ।
१. बैठकले २६औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने महासंघको निवर्तमान कार्यसमिति, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय निर्वाचन समितिहरू, विभिन्न सञ्चारसम्वद्ध संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत निर्वाचन प्रक्रियामा जोडिएका सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।
२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र  नेपाली पत्रकारिताको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता बैठकले गरेको छ ।
३. प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको तथा उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजतलास गरिरहेको घटनाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले यो कार्यको भत्र्सना गर्दै पत्रकारहरूलाई आतंकित पार्ने काम तत्काल रोक्न राज्यको ध्यानाकर्षण गराएको छ ।
४. केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको बैठकले ध्यानाकर्षण गराएको छ ।
५. कोरोना संक्रमणबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका लागि पहल गर्ने प्रतिवद्धता बैठकले गरेको छ ।

रोशन पुरी
महासचिव

 Download