नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, चौरजहारी घोषणापत्र–२०७६

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजनामा रुकुम पश्चिमको सुन्दर पर्यटकीय नगरी चौरजहारीमा २०७६ फागुन ३ र ४ गते सम्पन्न प्रथम साधारण सभा तथा कर्णाली मिडिया सम्मेलन २०७६ बाट जारी गरिएको १३ बुँदे चौरजहारी घोषणा–पत्र २०७६ः


१.     श्रमजीवी पत्रकारहरु तथा नागरिक समाजको अग्रणी संस्था हुनुको नाताले सदैव प्रेस तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा लाग्नु नेपाल पत्रकार महासंघको अहम दायित्व हो । यो साधारण सभा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुन खोज्ने सबैखाले हस्तक्षेपको विरोध गर्दछ । संघीयता कार्यान्वयनको यस चरणमा बनिरहेका विभिन्न ऐन, नियम कानुनहरुमा पूर्ण प्रेस स्वतत्रताको सुनिश्चितता गर्न तथा प्रस्तावित विधेयकहरुमा उल्लेख गरिएका कतिपय प्रेस तथा नागरिकका स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरु सच्याउन माग गर्दछ । 


२.     श्रमजीवी पत्रकार ऐन जारी भएको २५ वर्ष बित्दा पनि यसको पूर्ण कार्यान्वयन भएको छैन । अहिले पनि मिडियामा न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र अन्य सुविधाहरुको ठूलो समस्या छ । कर्णालीका ९० प्रतिशतभन्दा बढी पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् । यो साधारण सभा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ । प्रेस काउन्सिल नेपालले वर्गिकरण गरे वमोजिम मिडियाले कार्यरत श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिक प्रदान गराउने वातावरण तयार गर्न माग गर्दछ । 


३.     भौगोलिक कठिनाई र यातायातको सहज पहुँचको अभावका कारण कर्णालीको पत्रकारितामा धेरै ठूला चुनौतीहरु छन् । विकट वस्तीहरुमा गई रिपोर्टिङ गर्दा आर्थिक र भौतिक सुरक्षाको चुनौती तथा कठिनाई हुने गरेको छ । तर, सरकारी र निजी क्षेत्रका राष्ट्रिय स्तरका मिडियाले पनि सुगममा गरिने रिपोर्टिङकै सरह प्रतिसमाचार वापतको पारिश्रमिक प्रदान गर्ने गरेका छन् । यो साधारण सभा कर्णालीको वास्तविकतालाई अध्ययन गरी प्रतिसमाचार वापत दिइने रकम कम्तिमा अन्य क्षेत्रभन्दा ३० प्रतिशत बढी दिन र ३ वर्षभन्दा बढी समय निरन्तर एउटै मिडियामा काम गर्ने पत्रकारलाई स्थायी गर्न माग गर्दछ । 


४.     मोफसलका मिडियामा ठूलो व्यवसायिक लगानी हुन सकेको छैन । अधिकांश मिडियाहरु पत्रकारहरु आफैले स्वरोजगारका रुपमा सञ्चालन गर्ने गरेका छन् । जसले गर्दा मोफसलमा मिडिया टिकाउन निकै कठिन छ । मिडिया बलियो हुन सके मात्र सचेत, सुसूचित र जागरुक जनता, जवाफदेही, जिम्मेवार र पारदर्शी सार्वजनिक निकाय हुन सम्भव छ । स्रोत साधनले सम्पन्न भएर पनि व्यवसायिक मिडियाको विकास नहुनुले कर्णाली प्रदेश पछि परेको छ । त्यसैले कर्णालीमा व्यवसायिक मिडियाको विकासका लागि गहिरो अध्ययन, अनुसन्धान गरी यहाँका मिडियालाई विशेष सहुलियत र अनुदानको व्यवस्था गर्न यो साधारण सभा सरकारसँग माग गर्दछ । मिडिया खोल्दा दीर्घकालीन रुपमा टिकाउने व्यवसायिक योजना, चालु पुँजी, श्रमजीवी हित कोष जस्ता केही आधारभूत कुराहरु अनिवार्य गराउन माग गर्दछ । 


५.     थुप्रै कठिनाईहरुसँग जुधेर पनि कर्णालीमा पत्रपत्रिका, एफएम रेडियो, अनलाइन लगायतका सञ्चारमाध्यमहरुले दुर्गमका नागरिकलाई मिडियामा जोडेका छन् । दुर्गम कुनाकन्दराका नागरिकलाई सरकारसँग जोड्ने तथा सरकारका सूचना त्यहाँ पुर्याउने पुलका रुपमा सञ्चारमाध्यमले काम गरेका छन् । तर, आर्थिक स्रोतको अभावका कारण धेरै मिडिया बन्द हुने अवस्थामा छन् । त्यसैले यो साधारण सभा कर्णालीका मिडियालाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिन सम्बन्धित निकायसँग माग गर्दछ । 


६.     कर्णालीका सार्वजनिक निकायबाट मात्र प्रतिवर्ष १५ करोडभन्दा बढी रकमको विज्ञापन राजधानीबाट सञ्चालित ‘राष्ट्रिय मिडिया’मा जाने गरेको छ । तर, ती ’राष्ट्रिय मिडिया‘मा कर्णालीका खबरले प्राथमिकता त परै छ मुस्किलले स्थान पाउँछन । अर्कोतिर यहाँका मिडिया भने विज्ञापनको अभावमा कठिनाइ व्यहोरिरहेका छन् । कर्णालीका सबैतिर पुग्दै नपुग्ने, पुगे पनि सदरमुकाममा मात्र पुग्ने ती मिडियामा यहाँका सार्वजनिक सूचनाहरु प्रकाशन गर्नुपर्ने बाध्यता अन्त्य गरिनुपर्छ । कर्णालीमा मात्र नभई देशका सबै क्षेत्रमा स्थानीय विज्ञापनको कम्तिमा आधा हिस्सा स्थानीय मिडियामै खर्च गर्नुपर्ने प्रावधान लागु गर्नु जरुरी छ । त्यसका लागि गम्भीर पहलकदमी लिन संघीय सरकार र कर्णाली प्रदेश सरकारलाई यो साधारण सभा ध्यानाकर्षण गराउँदछ । 


७.     मिडिया विकास कोषबाट सञ्चारका साधनमा पत्रकारलाई दिइने अनुदान कर्णालीका पत्रकारका लागि अव्यवहारिक र अप्रयाप्त छ । यसलाई व्यवहारिक र प्रभावकारी बनाउन काम गर्ने जिल्लामै यो सुविधा प्राप्त गर्ने व्यवस्था मिलाउन यो साधारण सभा कोषलाई आग्रह गर्दछ । पत्रकारिताको व्यवसायीकरणका लागि मिडिया विकास कोष मार्फत प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्न, विद्यमान १० प्रतिशत ब्याजको सहुलियतलाई सतप्रतिशत  बनाउन, कर्णालीमा स्थापित भएका सञ्चार माध्यममा प्रयोग हुने सञ्चार सामग्री (प्रेस, ट्रान्स मिटर, मिक्स्चर, क्यामरा, रेकर्डर, कम्प्युटर, टावर, न्यूज प्रिन्ट आदि) मा शतप्रतिशत भन्सार छुट तथा खरिदमा ५० प्रतिशत छुट गर्न, स्थानीय रेडियो र पत्रपत्रिकाको हकमा सूचना विभागले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनलाई ५० प्रतिशत बृद्धि गरी समानुपातिक रुपमा वितरण गर्न माग गर्दछ । सूचना बिभागबाट प्रदान गरिने प्रेस पास, पत्रपत्रिका दर्ता तथा स्थानान्तरण, रेडियो लाइसेन्स नविकरण, रोयल्टी बुझाउने कार्य सम्बन्धित जिल्लाबाटै सहज रुपमा उपलब्ध गराउन माग गर्दछ । 


८.     दुर्गमका पत्रकारहरु ठूलो प्राकृतिक तथा अन्य जोखिम मोलेर काम गरिरहेका छन् । रिपोर्टिङकै क्रममा तथा कार्यक्षेत्रमा खटिरहेका बेला नै थुप्रै पत्रकारहरुले ज्यान गुमाउनु परेको छ । सञ्चारका साधन पनि क्षति हुने गरेको छ । पत्रकारिता पेशाको विशिष्टतालाई ध्यान दिएर दुर्गमका पत्रकारको स्वास्थ्य र जीवन विमाको व्यवस्था गर्न, अहिले कर्णाली प्रदेश सरकारले गरेको दुर्घटना विमाको रकम बढाउनुका साथै यो प्रक्रियालाई सहज बनाउन, पत्रकार र उनका परिवारलाई उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न यो साधारण सभा माग गर्दछ । द्वन्द्व पीडित पत्रकारहरुको पहिचान स्थापित गरी उनका परिवारहरुको हेरचाहमा ध्यान दिन सरकारसँग माग गर्दछ । 


९.     नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसहित जिल्ला शाखाहरुको भवन निर्माण अन्य आवश्यक स्रोत साधनहरुसहितको व्यवस्थित स्रोतकेन्द्र स्थापना गर्न र संस्थागत विकासका लागि आवश्यक सहयोग गर्न कर्णाली प्रदेश सरकारसँग यो साधारण सभा माग गर्दछ । 


१०.     पत्रकारितालाई जिम्मेवार र बलियो बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ । उत्तरदायी, जिम्मेवार र सक्षम पत्रकार उत्पादनका लागि कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापना गरी पत्रकारहरुलाई आवधिक तालिमको व्यवस्था गर्न, निरन्तर लामो समयदेखि पत्रकारितामा लागेका पत्रकारहरुको ज्ञान, सिप र अनुभवलाई बौद्धिक प्रमाणिकरणको योजना विकास गर्न यो सधारण सभा सरकारसँग माग गर्दछ । साथै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन, आचारसंहिता कार्यान्वयन गर्न र पत्रकारिताका स्थापित मुल्य मान्यतालाई अपनाउन तथा उच्च व्यवसायिक धर्म निर्वाह गर्न सबै पत्रकारहरुलाई आग्रह गर्दछ । 


११.     प्राकृतिक सुन्दरताले भरिपूर्ण, सांस्कृतिक, धार्मिक सम्पदाको धनी, बहुमूल्य जडिबुटीहरुको खानी रहेको कर्णाली प्रदेश फलफूल, पशुपालन तथा अन्य कृषि उत्पादनका दृष्टिले पनि निकै ठूलो सम्भावना बोकेको प्रदेश हो । यहाँको भूबनोट, माटो र अन्य विविधताको विस्तृत अध्ययन गरी कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी छ । अन्तराष्ट्रिय बजारमा समेत विस्तार भइसकेको रुकुममा हुने तरकारी बिउ उत्पादन, कर्णालीको फलफूल खेतीलाई विस्तार तथा व्यवस्थित र ब्रान्डिङ गर्न, अन्तराष्ट्रिय स्तरमै चर्चित स्यार्पु, रारा, शे फोक्सुन्डो, कुभिन्डे तालसहित यहाँका चर्चित पर्यटकीय स्थलहरुमा आवश्यक पूर्वाधारहरुको विकास गर्न, आवश्यक प्रचारप्रसारका लागि व्यवस्था गर्न, पर्यटनसँग स्थानीय जनताको आय आर्जनलाई जोड्नका लागि व्यवसायिक तालिमको व्यवस्था गर्न यो साधारण सभा सरकारसँग माग गर्दछ । साथै भेरी नदीमा व्यवसायिक रुपमा राफ्टिङ सञ्चालन गर्न, जाजरकोटमा पाउने विश्वकै बहुमुल्य काइनेट ढुंगा, चौरजहारी नगरपालिकाको सिलेट ढुंगा, यस प्रदेशका विभिन्न जिल्लामा रहेका अन्य धातुका खानी, दैलेख श्रीस्थानमा रहेको इन्धनको उत्खनन गर्न र बजार प्रवद्र्धन गर्न माग गर्दछ । नेपाली भाषाको उद्गम स्थल यही प्रदेशको सिंजा भएकोले खस भाषा र सिंजालाई संरक्षण तथा विकास गर्न माग गर्दछ ।


१२.     निर्माण भएको वर्षौ बित्दा पनि चौरजहारी–सल्ली जोड्ने मोटरबाटो पक्की नहुँदा, मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी र जाजरकोट जोड्ने भेरीपुल वर्षौसम्म पनि बन्न नसक्दा यस क्षेत्रका जनताले ठूलो सास्ती खेपिरहेका छन् । यो साधारण सभा सल्ली–चौरजहारी मोटरबाटो पक्की बनाउन, भेरी पुल निर्माणमा तीब्रता दिन तथा देशकै ठूलो मध्ये एक आयोजना मानिएको नलगाड जलविद्युत आयोजनासहित प्रदेशको दीर्घकालीन पूर्वाधार विकासमा जोड दिन, कर्णाली प्रदेशको हवाई यातायातको पहुँच विस्तार गरी सहज र व्यवस्थित गर्न माग गर्दछ ।


१३.     विज्ञान, प्रविधि तथा उच्च चेतना विकास भएको आजको युगमा पनि कर्णालीसहित अन्य क्षेत्रमा रहेका छाउपढीजस्ता कुप्रथा र कुरीतिहरुको पूर्णतः अन्त्य गर्न सरकारसँग माग गर्दछ । 


१४.     नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको प्रथम साधारण सभा तथा कर्णाली मिडिया सम्मेलन २०७६ सम्पन्न गर्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिल नेपाल, कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति रुकुम पश्चिम, चौरजहारी नगरपालिकासहित रुकुम पश्चिमका स्थानीय तह र संघ संस्था, कार्यक्रम व्यवस्थापन गर्न भूमिका खेल्ने महासंघ रुकुम पश्चिम जिल्ला शाखालाई यो साधारण सभा विशेष धन्यवाद ज्ञापन गर्दछ । 

 

४ फागुन २०७६
चौरजहारी, रुुकम पश्चिम
  

 Download