महासंघद्वारा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धि वार्षिक प्रतिवेदन सार्वजनिक तथा लैंगिक समानता पुरस्कार वितरण

महासंघद्वारा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धि वार्षिक प्रतिवेदन सार्वजनिक तथा लैंगिक समानता पुरस्कार वितरण



May 3, 2025


बैशाख २०, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धि वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुका साथै लैंगिक समानता पुरस्कार वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसमा मे ४ सन् २०२४ देखि २०२५ अप्रिल ३० सम्म महासंघको सञ्चार अनुगमन इकाइमा अभिलेख भएका घटनाको प्रतिवेदन सार्वजनिक गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले  पत्रकारहरु मानव अधिकारको रक्षक रहेको भन्दै त्यसमा सहकार्य गरी अघि बढ्नुपर्ने  जनाउनुभयो । उहाँले मानवअ अधिकारको पक्षमा क्रियाशिल सबै एक भइ सरकारलाई दवाव दिनसकेमात्र मानव अधिकार थप सुदृढ हुनेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिदै यस वर्ष प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना अभिलेख भएको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको बताउदै ७३ वटा घटनामा २ जना पत्रकारको हत्या भएको छ । गिरफ्तारी २, कब्जा तथा अवरोध ९, पत्रकार दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका २० वटा घटना रहेका छन् । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना रहेको जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले प्रेस स्वतन्त्रताको दुरुपयोग भएको  गुनासो बढिरहे भन्दै त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले राज्यले नियमनका नाममा नियन्त्रण गर्छ कि भन्नै त्रास बढिरहेको भन्दै सजक रहनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका सम्बन्धमा महासंघले तयार पारेको घटनाको प्रतिवेदन सार्वजनिक गरिएको छ । महासंघका उपाध्यक्ष उमिद बागचन्द्रको अध्यक्षतामा गठित छानबिन समितिले यतार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

त्यसैगरी, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ बाट सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज, कैलालीलाई सम्मान गरेको छ । 

२०८२ वैशाख २ गते आवेदन आह्वान गरिएको यस पुरस्कारमा कुल २३ सञ्चारमाध्यमले सहभागिता जनाएका थिए। प्राप्त आवेदनहरू मध्ये अनलाइन पोर्टलतर्फ ७ (२९%), रेडियो/एफएमतर्फ १३ (५४%), टेलिभिजनतर्फ १ (४%) र पत्रपत्रिकातर्फ ३ (१३%) रहेका थिए। 

महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले धन्यवाद ज्ञापन गर्दै प्रेस स्वतन्त्रतका विभिन्न घटनाले प्रेसको अवस्था उजागर गरेको भन्दै प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्र नभए सबैका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको सुरक्षाका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।