महासंघ र अर्थमन्त्रीबीच छलफल 

महासंघ र अर्थमन्त्रीबीच छलफल 



Aug 2, 2021


साउन १८, काठमाडौं । नेपाल पत्रकार महासंघले नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मासंग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा छलफल गरेको छ । महासंघ केन्द्रीय कार्यालयमा अर्थ मन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा छलफल गरेको हो । 
कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासंग छलफल गरी  योजना ल्याउने बताउनुभयो । शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमिकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सत्यतथ्य सूचना संप्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ्य आलोचना गर्न समेत आग्रह गर्नुभयो । 
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठुलो प्रभाव परेको भन्दै पत्रकारहरु पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराउनुभयो । उहाँले मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रीत पत्रकारहरु मारमा परेको भन्दै  त्यसको सम्बोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रीत परिवारलाई ठुलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताउनुभयो ।  
भेटमा कार्यवाहक अध्यक्ष रमेश विष्टले बजेट कार्यान्व्यनका साथ साथै सञ्चारसंग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाइ हस्तान्तरण गर्नुभएको थियो ।