पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि विभिन्न जिल्लामा भएको दुर्व्यवहार, समाचार संकलनमा रोक र सामाजिक सञ्जालबाट धाक–धम्की दिने कार्यप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०३।०७

पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि विभिन्न जिल्लामा भएको दुर्व्यवहार, समाचार संकलनमा रोक र सामाजिक सञ्जालबाट धाक–धम्की दिने कार्यप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ मकवानपुर शाखाका अनुसार असार ६ गते शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारलाई फोटो र भिडियो खिँच्न रोक लगाएका थिए । नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने निर्धारित कार्यक्रमको समाचार संकलनका लागि पुगेका शाखा उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल र मनिल महतोलगायतलाई रोक लगाइएको शाखाले जनाएको छ ।

यसैगरी महासंघ गुल्मी शाखाका अनुसार यही असार ५ गते बिहीबार बी टेलिभिजन र रेडियो नेपालमा कार्यरत सूर्य सुनारलाई भिडियो खिँच्ने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर १ र २ का वडाअध्यक्ष क्रमशः आनन्द श्रेष्ठ, रविन्द्र के.सी., वडा नं. ३ का सदस्य थम्मनबहादुर जिसीले दुर्व्यवहार गरेका थिए । सो क्रममा प्रहरी हवल्दार अशोक धवल, नगर प्रहरी रिता माझी र गोपाल रानाले शाखा कार्यसमिति सदस्यसमेत रहेका सुनारले खिँचेको भिडियो हटाउन लगाएको शाखाको भनाइ छ ।

त्यस्तै महासंघ तनहुँ शाखाका अनुसार असार ३ गते मंगलबार शाखा कार्यसमिति सदस्यसमेत रहेका तनहुँ प्रेस अनलाइनका कार्यकारी सम्पादक विकास खनाललाई तनहुँ ऋषिङ गाउँपालिकाबाट समाचार संकलन गरेर फर्कने क्रममा बिनाकारण स्थानीय विवेक श्रेष्ठले सामाजिक सञ्जालबाट धम्की दिएका थिए । जिल्लाका महत्वपूर्ण पदमा रहेका जनप्रतिनिधिसमेतले पत्रकारलाई अमर्यादित र अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमा लेखिएको शाखाको भनाइ छ ।

नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने सञ्चारकर्मीमाथि जो कोहीबाट भएका यस किसिमका सबै हर्कतलाई महासंघले अत्यन्त निन्दनीयका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ ।

महासंघ प्रेस स्वतन्त्रताविरोधी यी घटनाप्रति खेद प्रकट गर्दछ । र, ती सबै घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारितामा जुट्ने वातावारण निर्माण गर्न एवं आगामी दिनमा यस्ता हर्कत दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download