नजर अनलाइनका सम्पादक झलक पालीमाथि भैरहेको दुर्व्यवहार र घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०३।०२
नजर अनलाइनका सम्पादक झलक पालीमाथि भैरहेको दुर्व्यवहार र घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

प्रहरीले सिर्जना गरेको ‘प्रहरीसँग पत्रकार’ नामको म्यासेन्जर ग्रुपमा २०८२ जेठ १४ गते डोटीको जोरायल गाउपालिका–१ का दीपक खड्काको मृत्युबारे जानकारी प्राप्त भएपछि सोही आधारमा पालीले समाचार प्रकाशन गरेपछि यो स्थिति आएको महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

सो समाचार भ्रामक र तथ्यहीन भएको आरोप लगाउँदै पालीवरुद्ध स्थानीय र प्रहरीसमेतको सहभागितामा भ्रम फैलाउने, हतोत्साहित गर्ने तथा सार्वजनिक रुपमा माफी माग्न दबाब आइरहेको प्रदेशको भनाइ छ ।

स्रोतका आधारमा समाचार तयार पार्ने पत्रकारको पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि यसप्रकारका हर्कत हुनुलाई महासंघले अत्यन्त निन्दनीय र प्रेसविरोधी कदमको रुपमा लिएको छ

महासंघ पत्रकारलाई हतोत्साहित र भ्रमित बनाउने यस्ता कार्यप्रति खेद प्रकट गर्दछ । समाचारमा चित्त नबुझे कानुनी उपचार या प्रचलित विधि अनुरुप जान सम्बन्धित पक्षलाई सुझाउदै महासंघ घटनाको छानबिन गरी यस्ता गतिविधि नियन्त्रणमा गम्भीर हुन तथा प्रेसलाई स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

 Download