वरिष्ठ पत्रकार विजय चालिसेको उपचारको क्रममा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८२।०२।१६
वरिष्ठ पत्रकार विजय चालिसेको उपचारको क्रममा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ७४ वर्षीय चालिसेको जेठ १६ गते शुक्रबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो ।

लामो समय पत्रकारिता क्षेत्रमा व्यतीत गर्नु भएका चालिसेले गोरखापत्र दैनिकमा कायम मुकायम प्रधानसम्पादक र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । वि. सं. २०६७ सालसम्म महासंघको गोरखापत्र शाखाबाट सदस्यको रुपमा सक्रिय चालिसे प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ पत्रकारितासँगै विविध साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ र अनुभवी पत्रकारलाई गुमाएको छ भने साहित्यिक क्षेत्रले एक जना उत्कृष्ट र बहुमुखी साहित्यकार गुमाएको छ ।

महासंघ स्वर्गीय चालिसेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

 Download