पत्रकार सुजित के. सी. लाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण ।

 

मिति : २०८२।०२।५

पत्रकार सुजित के. सी. लाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

विधुतीय कारोबार ऐन विपरित पूर्वप्रधानमन्त्रीको बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा राष्ट्रिय समाचार अनलाइनका सम्पादक/प्रकाशक के.सी. लाई आज प्रहरीले पक्राउ गरेको महासंघ एसोसिएट प्रदेश समितिले जनाएको छ । के.सी. एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य हुनुहुन्छ ।

समाचार, विचार र समाचारमूलक सन्देशहरू प्रवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी गरिनु पत्रकारको नैसर्गिक हक हो । त्यसले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास छ । यससम्बन्धी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा रहेको पनि जानकारी गराइन्छ।

त्यसलाई बेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनुलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ ।

महासंघ प्रहरीको यो हस्तक्षेपप्रति गम्भीर चिन्ता प्रकट गर्दै खेद व्यक्त गर्दछ । र, यो घटनाको छानबिन गरी पत्रकार के.सी. लाई यथाशीघ्र रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download