मिति : २०८२/०४/३१
समाचार चित्त नबुझेको भन्दै आर्थिक न्युज डटकमका प्रबन्ध सम्पादक इन्द्र बानियाँलाई राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक कर्मचारीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
उक्त अनलाइनले केहीदिन अघि आर्थिक लेनदेनका आधारमा सेन्टरले कर्मचारी भर्ना गरेको भनी समाचार प्रकाशन गरेको थियो । सोही विषयलाई लिएर बानियाँलाई महिला कर्मचारीले हात खुट्टा भाँचेर मारिदिने धम्की दिएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे खण्डन तथा उजुरी गर्ने विधि विपरीत पत्रकारमाथि जाइलाग्नु अत्यन्तै दुखद् र खेदजनक कार्य हो । महासंघ यस घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्नुका साथै प्रेसको अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव