महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठककाे निर्णयहरु

मिति : २०७६।११।०८

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक कार्यबाहक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बस्यो । बैठकले संसदीय प्रक्रियामा रहेको सञ्चारसम्बन्धी मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकको पछिल्लो अवस्थाका बारेमा समीक्षा ग¥यो । मिडिया काउन्सिल विधेयकमा महासंघले उठाएका विषयहरू आंशिक सम्वोधन भए पनि काउन्सिलको स्वायत्ततालगायतको विषयमा थप सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । साथै, सूचना प्रविधिसम्बन्धी विधेयकका सम्बन्धमा महासंघले उठाएका विषयहरु सम्वोधन हुनेगरी दबाब सृजना गर्ने निर्णय गरेको छ । साथै, सञ्चारसम्बन्धी अन्य विधेयक अघि बढाउँदा सरोकारवाला पक्षसँग छलफल गर्न सरकारसँग आग्रह गर्दछ ।सञ्चारमाध्यममा प्रकाशित समाचारका सम्बन्धमा चिनियाँ दूतावासले सम्पादक र सञ्चारमाध्यमविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरेकोप्रति महासंघले गम्भीरतापूर्वक लिँदै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै, सञ्चारमाध्यमहरूले समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र सम्वेदनशील विषयहरुमा समाचार संप्रेषण गर्दा थप ख्याल पु¥याउन महासंघ आग्रह गर्दछ । सञ्चारगृहभित्र सम्पादन विभागीय स्वतन्त्रताको सुनिश्चितताको लागि महासंघले पहिलेदेखि नै आवाज उठाउँदै आएको छ । सञ्चारगृहमा सम्पादकीय विभागको स्वतन्त्रतालाई महासंघले थप जोड दिएको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका सन्दर्भमा महासंघले चलाएको दबाब र अनुगमनलाई थप प्रभावकरी ढंगबाट अघि बढाउने निर्णय गरिएको छ । महासंघले सूचना तथा प्रसारण विभागमा श्रमजीवी पत्रकार तथा कर्मचारीको विवरण सबै सञ्चारमाध्यमलाई बुझाउन पुनः आग्रह गरेको छ । दरबन्दी यथाशीघ्र बुझाउने वातावरण निर्माण गर्न महासंघले सूचना तथा प्रसारण विभागलाई दबाब दिने निर्णय गरिएको छ । साथै, ठूला संख्यामा पत्रकारहरु प्रेस पास विहीन अवस्थामा भएकाले प्रेस पास नवीकरण सहज बनाउन पहल गर्ने निर्णय गरिएको छ । महासंघले पछिल्लो समय पत्रकार असुरक्षित देखिएको र पत्रकारहरू स्वनियन्त्रणमा रहेकाले सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।



रमेश विष्ट
महासचिव

 Download