नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुले लामो सयमदेखि नियमबमोजिम पाउनुपर्ने पारिश्रमिक र सुविधा उपलब्ध हुननसकेको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०७६।१०।२०

नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुले लामो सयमदेखि नियमबमोजिम पाउनुपर्ने पारिश्रमिक र सुविधा उपलब्ध हुननसकेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारले प्राप्त गर्नुपर्ने पारिश्रमिक एवं सुविधा लामो सयमदेखि प्राप्त गर्न नसक्नु दुःखद् विषय हो ।
उक्त मिडियामा श्रमजीवी पत्रकारले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति महासंघको पूर्ण समर्थन र ऐक्यवद्धता छ । श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुनसक्दैन ।
यस्तै टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवा सुविधा लामो समयदेखि प्राप्त गर्न नसकेको विषयमा पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ कार्यरत पत्रकारले विनियमावली तय गरी न्यूनतम पारिश्रमिक र सेवा, सुविधा थप हुनुपर्ने भन्दै सुरु गरेको दबाब अभियानमा महासंघको ऐकयवद्धता छ । अतः व्यवस्थापन पक्षले २०७३ साल पुस २५ गते श्रमजीवी पत्रकारसँग गरेको ६ बुँदे सहमति अक्षरसः कार्यान्वयन गरी तत्काल माग सम्वोधन गर्न महासंघ जोडदार माग गर्दछ ।
नेपाल रिपब्लिका मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग र गुनासा सुनुवाई गरी सम्वोधन गर्न महासंघ आग्रहसमेत गर्दछ । महासंघको आग्रहलाई बेवास्ता गरी समस्या समाधानमा उदासिनता देखाएमा महासंघले कडा कदम चाल्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँदछ ।
 

रमेश विष्ट
महासचिव