वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७६/१०/१६

नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत केही वर्षदेखि अस्वस्थ्य रहनु भएका गुप्ताको ९२ वर्षको उमेरमा उपचारका क्रममा माघ १५ गते बुधबार निधन भएको हो । स्वर्गीय गुप्ताका ४ छोरा र ३ छोरी हुनुहुन्छ ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । उहाँ २०५६ भाद्रदेखि २०५८ फागुनसम्म महासंघ बाँके शाखाको सभापति हुनुहुन्थ्यो । शाखामा हाल अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका गुप्ता पछिल्लो समय किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ बाँके शाखाले एक सक्रिय अभिभावक गुमाएको छ । 
नेपाल पत्रकार महासंघ स्वर्गीय गुप्ताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

    रमेश विष्ट
    महासचिव