पत्रकारमाथि दुव्र्यवहार गर्दै क्यामेरामा कैद गरिएको सामग्री मेटाइदिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७६।०८।१५

हिजो भएको उपनिर्वाचनको क्रममा समाचार संकलनमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य तथा कालिका मिडियाका समाचारप्रमुख राजु सापकोटालगायतका पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुव्र्यवहार गर्दै क्यामेरामा कैद गरिएको सामग्री मेटाइदिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १६ को श्री मा. वि. ढड्डाघारी मतदान केन्द्रमा समाचार संकलनका क्रममा भोजभतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेका पत्रकार सापकोटालाई सत्तारुढ दलका कार्यकर्ताले दुव्र्यवहार गर्दै जबर्जस्तीरुपमा सामग्री डिलिट गराएका थिए । उनीहरुले पत्रकारद्वय महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवारको क्यामेरामा कैद गरिएको सामग्री पनि डिलिट गराएका थिए । पत्रकारमाथि दुव्र्यवहार र सामग्री मेटाउने काम हुँदा चितवनका एसपी दानबहादुर मल्ल र सुरक्षा प्रमुखहरु मुखदर्शक बन्नु दुःखद् पक्ष हो । जिम्मेवार पार्टीका कार्यकर्ताबाट संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई गरिएको दुव्र्यवहार र क्यामेरा कैद गरिएको सामग्री मेटाएको यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारको हनन् भएको महासंघको ठहर छ । महासंघ पत्रकारलाई हतोत्साहित बनाउने यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ ।

 

रमेश विष्ट

महासचिव

 Download