सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति महासंघको ध्यानाकर्षण

मिति : २०७६।०२।१९
पछिल्लो केही दिनयता सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्सायी बनाउने र असुरक्षित बनाउने महासंघको ठहर छ । महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हो । तर, सामाजिक सञ्जालमा सञ्चारकर्मीहरु विरुद्ध आएका सामग्रीहरु अभिव्यक्ति स्वतन्त्रतामात्रै हो भनेर मान्न सकिने किसिमका छैनन् । ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न सकिदैन । शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको छ ।

साथै, यसै प्रकरणसँग जोडेर नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती र पत्रकारद्वय नगेन्द्र उपाध्याय तथा शेरबहादुर थापाको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणी र धम्कीप्रति महासंघ निन्दा गर्दै यस्ता कार्य नगर्न चेतावनी दिन चाहन्छ ।

महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकोले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्न चाहन्छ । तसर्थ, समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।

.......................
रमेश विष्ट
महासचिव

 

 Download