नेपाल पत्रकार महासंघका अध्यक्ष डा‍‍ विष्टद्वारा शाखाका सबै अध्यक्ष र सभासद्हरूमा धन्यवाद व्यक्त


२०७३÷१÷२३

श्री शाखा÷एशोसिएट अध्यक्ष तथा सभासद्ज्यूहरू,

नेपाल पत्रकार महासंघ

। विषयः धन्यवाद सम्बन्धमा । प्रिय साथीहरू, नेपाल पत्रकार महासंघको यही वैशाख २१ गते चितवनमा सम्पन्न केन्द्रीय साधारणसभामा यहाँको उपस्थिति र सक्रिय सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दछु । साधारणसभाका लागि चितवनमा रहँदा यहाँको बसाइ सुुखद् रह्यो एवं आगमन र फिर्ती पनि सहज नै भयो भन्ने विश्वास लिएको छु । 

साधारणसभा महासंघको सर्वोच्च निकाय हो । सभासद्ले त्यही निकायमार्फत् महासंघका प्रत्येक विषयमा चासो राख्ने र केन्द्रीय समितिलाई मार्गदर्शन गर्ने हो । महासचिव र कोषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन र लेखा समितिको प्रतिवेदनमाथिको छलफलमा त्यसको अभिव्यक्ति प्रशस्त मात्रामा भएको छ । साधारणसभाको घोषणापत्रले पनि त्यसको मर्मलाई आत्मसात् गरेको छ । केन्द्रीय साधारणसभाबाट केन्द्रीय समितिले थप ऊर्जा प्राप्त गरेको छ । त्यहाँ उठेका सवै विषयलाई सकारात्मकरूपमा लिई महासंघको उद्देश्य र पत्रकारको हकहितका निम्ति कार्यकालको बाँकी अवधिमा अझ बढी मेहेनतका साथ काम गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछु । 

साधारणसभामा महासंघ केन्द्रीय समितिबाट विभिन्न चरणका छलफलपछि निकै ठूलो मेहेनत र व्यापक सहमतिका साथ समयको मागलाई ठोसरूपमा संबोधन गर्ने खालको विधान संशोधन प्रस्ताव तयार गरी लगिएको थियो । विधानबमोजिम कार्यसूचीमा समावेश गरी अध्यक्षमण्डलमा टेवुल भई प्रस्तुतीको चरणमा पुगेको उक्त मस्यौदाका सैद्धान्तिक पक्षमाथि सर्वसम्मति रहेको मैले विधानको औचित्यमाथि धारणा प्रस्तुत गर्दाको बखतमा पनि महसुस गरेको थिएँ । तर, महासंघको सार्वभौम थलो साधारणसभामा प्रत्येक सभासद्ले विधानमाथिको छलफलमा सहभागी भएर आफ्नो रायसुझाव वातावरण अवस्था बन्न नसकेकोमा म निकै दुखी छु । अन्ततः साधारणसभाले विधानलाई अन्तिम रूप दिन विशेष समिति बनाई संशोधनको लागि मार्गप्रशस्त गरेर परिपक्वता प्रकट गरेकोमा आभार पनि व्यक्त गर्दछु । साथै, अझै पनि विधानमाथि सभासद्ले मत राख्न पाउने अधिकारलाई समेट्न सकिने हदसम्म समेटिने वचनवद्धता व्यक्त गर्दै महासंघ केन्द्रीय समितिले अघि सारेको विधान संशोधन प्रस्ताव उपर यहाँको कुनै राय सुझाव भए १५ दिनभित्र महासंघ केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु भएमा उक्त विशेष समितिमा पु¥याउने र सकेसम्म त्यसलाई समेट्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । पुनः एकपटक हार्दिक धन्यवादसहित,

डा. महेन्द्र विष्ट

अध्यक्ष